खोटाङ । रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड रुपैयाँ आर्जन गरेका छन् । यो पालिकाम यसपटक १८४ मेट्रिक टन लिची उत्पादन भएको छ । ६ वडा रहेको यो गाउँपालिकाको वडा नं. १ कुभिण्डेमा सबैभन्दा बढी ८८ मेट्रिक टन लिची उत्पादन भएको जनाइएको छ ।
कुभिण्डेमा ११ हेक्टरमा लगाइएको लिचीले उत्पादन दिन थालेको गाउँपालिकाका कृषि शाखा प्रमुख उद्धव बास्तोलाले बताए । पालिकाको वडा नं. २ खार्पामा २४ मेट्रिक टन, वडा नं. ३ लामीडाँडामा १६, वडा नं. ४ धारापानीमा १६, वडा नं. ५ दुवेकोलमा आठ र वडा नं. ६ हौँचुरमा ३२ मेट्रिक टन उत्पादन भएको छ ।
आफूले ३० हजार रुपैयाँको लिची बिक्री गरेको कुभिण्डेस्थित लाङ्घाली चोकका प्रेमबहादुर मगरले बताए । उनले प्रतिदाना एक रुपैयाँमा बिक्री गरेका हुन् ।
सोही स्थानका खड्गप्रसाद रेग्मीले ४५ हजार रुपैयाँको लिची बेचिसकेका छन् । केही किसानले एक लाख रुपैयाँभन्दा बढीका लिची बेचिसकेका कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईले जानकारी दिए । रावाबेँसीका किसानले लिचीबाट यसपटक ९५ लाख रुपैयाँ हाराहारी आम्दानी गरेका उनको अनुमान छ ।
रावाबेँसी गाउँपालिकालाई लिची उत्पादनको ‘हब’ को रूपमा विकास गर्ने गरी यही असार १० गते सम्पन्न १७औँ गाउँसभामार्फत नीति तथा कार्यक्रम पारित गरिएको गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठले बताए ।
FACEBOOK COMMENTS