काठमाडौं । खोटाङको बराहपोखरी गाउँपालिकालाई सङ्घीय सरकारबाट हस्तान्तरण हुने अनुदान घट्दै गएको छ । यस गाउँपालिकालाई पछिल्ला दुई आर्थिक वर्षमा अर्थ मन्त्रालयले विनियोजन गर्दै आएको बजेट निरन्तर घट्दो अवस्थामा छ ।
बराहपोखरी गाउँपालिकाले संस्थापनकाल (आर्थिक वर्ष २०७४/७५) पछिका नौ आर्थिक वर्षमा सङ्घीय सरकारबाट सबैभन्दा बढी बजेट गत आर्थिक वर्ष २०८०/८१ मा पाएको थियो । सो आर्थिक वर्ष यस गाउँपालिकाका लागि २६ करोड २९ लाख रुपैयाँ बजेट छुट्याइएको थियो ।
तर, त्यसयता यस गाउँपालिकालाई सङ्घीय सरकारबाट हस्तान्तरण भएको अनुदान रकम बर्सेनि घट्दै गएको हो । बराहपोखरी गाउँपालिकाका लागि सङ्घीय सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २५ करोड ८९ लाख रुपैयाँ अनुदान हस्तान्तरण गरेको छ । यो बजेट खोटाङका दश स्थानीय तहका लागि विनियोजितमध्ये सबैभन्दा कमसमेत हो ।
चालु आर्थिक वर्ष २०८१/८२ का लागि अर्थ मन्त्रालयले यस गाउँपालिकालाई २५ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । यो गत आर्थिक वर्ष २०८०/८१ मा हस्तान्तरित अनुदानभन्दा ३२ लाख रुपैयाँ घटी हो ।
गत आर्थिक वर्ष २०८१/८२ को बजेटलाई आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटसँग तुलना गर्दा आगामी आर्थिक वर्षको बजेट ४० लाख रुपैयाँ घटी हो । यस्तै, चालु आर्थिक वर्ष २०८१/८२ को बजेटलाई आगामी आर्थिक वर्षको बजेटसँग तुलना गर्दा चालु आर्थिक वर्षको बजेट आठ लाख रुपैयाँ घटी हो ।
यसप्रकार, गत आर्थिक वर्ष २०८०/८१ को बजेटलाई हेर्ने हो भने पछिल्ला दुई आर्थिक वर्षमै सङ्घीय सरकारले बराहपोखरी गाउँपालिकालाई दिँदै आएको बजेट ४० लाख रुपैयाँले घटेको छ ।
नौ आर्थिक वर्षमा बराहपोखरी गाउँपालिकाले सङ्घीय सरकारबाट सबैभन्दा कम बजेट आर्थिक वर्ष २०७५/७६ मा पाएको थियो । सो आर्थिक वर्ष अर्थ मन्त्रालयले यस गाउँपालिकाका लागि १६ करोड ५२ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
बराहपोखरी गाउँपालिकाले सङ्घीय सरकारबाट कहिले कति बजेट पायो ?
बराहपोखरी गाउँपालिकाले संस्थापनकाल (आर्थिक वर्ष २०७४/७५) मा सङ्घीय सरकारबाट २१ करोड ३० लाख ७६ हजार रुपैयाँ बजेट पाएको थियो । तर, त्यसपछिका तीन आर्थिक वर्षमा भने संस्थापनकालमा भन्दा कम बजेट पाएको थियो ।
गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ मा १६ करोड ५२ लाख रुपैयाँ, आर्थिक वर्ष २०७६/७७ मा १८ करोड २१ लख रुपैयाँ र आर्थिक वर्ष २०७७/७८ मा २० करोड १० लाख रुपैयाँ बजेट पाएको थियो ।
संस्थापनकापछिका तीन आर्थिक वर्षमा निरन्तर कम बजेट पाएको गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ मा भने केही बढी बजेट पायो । सो आर्थिक वर्ष सङ्घीय सरकारले २४ करोड ६३ लाख रुपैयाँ अनुदान गाउँपालिकालाई हस्तान्तरण भएको थियो ।
त्यसपछि आर्थिक वर्ष २०७९/८० पुनः घटेर २४ करोड २४ लाख रुपैयाँ पायो भने आर्थिक वर्ष २०८१/८२ मा यो बढेर २६ करोड २९ लाख पुग्यो । यद्यपि, आर्थिक वर्ष २०८१/८२ पछिका दुई आर्थिक वर्षमा भने गाउँपालिकाको बजेट बर्सेनि घटेको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा २५ करोड ९७ लाख रुपैयाँ बजेट पाएको गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २५ करोड ८९ लाख रुपैयाँ बजेट प्राप्त गरेको छ ।
किन घट्यो बजेट ?
दुर्गम पहाडी जिल्ला खोटाङको दक्षिणी भेगमा अवस्थित स्थानीय तह हो, बराहपोखरी गाउँपालिका । यस गाउँपालिकामा ६ वटा वडा छन् । २०७८ सालको जनगणअनुसार यस गाउँपालिकाको जनसङ्ख्या ११ हजार ३९७ छ । उच्च बसाइँसराइ दर दुर्गम क्षेत्रको साझा समस्या हो । र, यो समस्याबाट बराहपोखरी गाउँपालिका पनि अछुतो छैन । तीव्र बसाइसराइँले गाउँपालिकामा बसोबास गर्ने मानिसको सङ्ख्या निरन्तर घट्दै गइरहेको छ ।
जनसङ्ख्या बजेट वितरणको प्रमुख आधार हो, किनभने सेवा दायित्व जनसङ्ख्यामा निर्भर गर्दछ । बसाइसराइँका कारण जनसङ्ख्या घट्दै जानुले पनि सङ्घीय सरकारले बजेट घटाएको हुन सक्छ ।
तर, बजेट घट्नुको कारण यतिमै सीमित रहँदैन । समग्र देशको अर्थतन्त्रमा देखिएको सङ्कुचनले पनि यसमा प्रभाव पार्दछ । साथै, स्थानीय तहको बजेट खर्च गर्ने क्षमतामा कमी तथा अनुत्पादक क्षेत्रमा खर्च, योजना प्राथमिकीकरण र कार्यान्वयनमा समस्या, स्थानीय तहले आफ्नै स्रोतबाट जुटाएर राजस्वमा सङ्घीय सरकारसँग गर्ने साझेदारी आदिमा सङ्घीय सरकारले वितरण गर्ने बजेट निर्भर हुन्छ । सुशासन, आर्थिक पारदर्शिता र मितव्ययिताको अभावले पनि स्थानीय तहको बजेटमा कटौती हुन सक्छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गर्ने स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनमा पनि बराहपोखरी गाउँपालिका पछि पर्दै आएको छ । साथै, स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमै पनि बराहपोखरी गाउँपालिकाले आफूलाई अब्बल साबित गर्न सकेको छैन । यी कारणहरूले गर्दा पनि बराहपोखरी गाउँपालिकालाई सङ्घीय सरकारले दिने अनुदान घटाएको हुन सक्छ ।
FACEBOOK COMMENTS