काठमाडौं । भारतको गुजरात राज्यस्थित वडोदार जिल्लामा अवस्थित मही नदीको पुलको बीच भाग नै भाँचिएको छ । दुर्घटना आज बिहान भएकाे हाे ।
वडोदरा जिल्लाका कलेक्टर अनिल धामेलियाका अनुसार दुर्घटनामा ९ जनाको ज्यान गएको छ भने ६ जना भएका छन् ।
स्थानीय प्रशासनले घटनास्थलमा बिहानैदेखि राहत तथा उद्धारको कार्य भइरहेको जनाएको छ ।
वडोदरा जिल्लाको बाह्य क्षेत्रमा मही नदीमा बनेको पुरानो पुलको बीच भाग भाँचिएको हो । पुलको बीच भाग भाँचिँदा थुप्रै सवारीसाधन नदीमा खसेका छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार उक्त पुल करिब ४० वर्ष पुरानो थियो । गुजरात सरकारले घटनाको कारण जाँच गर्न आदेश दिएको छ ।
जानकारीअनुसार उक्त पुल आणन्द जिल्लाको गम्भीराबाट वडोदरा जिल्लाको पादरा र भरुच जोड्ने बाटोमा बनेको थियो । उक्त पुलले आणन्द र वडोदरा जिल्ला जोड्नमा महत्त्वपूर्ण भूमिका खेलेको थियो ।
आणन्द जिल्लाका कलेक्टर प्रवीण चौधरीले उक्त पुल सन् १९८३–८४ को आसपासमा निर्माण भएको बताए ।
दुर्घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । उनले प्रत्येक मृतकका परिवारलाई २/२ लाख र घाइतेलाई ५०/५० हजार रकम दिइने बताएका छन् ।
FACEBOOK COMMENTS