काठमाडौं । एप्पल वाचले जीवन बचाएको तथ्य त धेरैपटक प्रमाणित भइसकेको छ, तर अब एप्पल वाचमा संकलित स्वास्थ्य डेटाबाट गर्भावस्था पत्ता लगाउने नयाँ सम्भावना देखिएको छ।
हालै सार्वजनिक एक अध्ययन अनुसार, एप्पलसँगको सहकार्यमा विकसित गरिएको नयाँ एआई मोडेलले एप्पल वाच र आईफोनबाट सङ्कलन हुने दीर्घकालीन व्यवहारिक डेटाका आधारमा गर्भावस्था जस्ता अवस्थाहरू पहिचान गर्न सक्ने देखाएको छ।
‘बियोन्ड सेन्सर डेटा: फाउन्डेसन मोडेल अफ बिहेभियरल डेटा फ्रम वेयरेबल्स इम्प्रूभ हेल्थ प्रेडिक्शन्स’ नामक अध्ययनले यो सम्भावना औपचारिक रूपमा अघि सारेको हो ।
अनुसन्धानकर्ताहरूका अनुसार नयाँ ‘वेयरेबल बिहेभियर मोडेल’ले परम्परागत रूपमा प्रयोग हुने सेन्सर डेटामात्र होइन, प्रयोगकर्ताहरूको गतिविधि स्तर, निद्राको गुणस्तर, हिँड्ने ढाँचा र मुटुको दर परिवर्तनशीलता जस्ता दीर्घकालीन व्यवहारलाई समेत विश्लेषण गर्छ।
यो मोडेल एप्पल हार्ट एन्ड मुभमेन्ट स्टडीको भागका रूपमा विकास गरिएको हो, जसमा १ लाख ६० हजारभन्दा बढी सहभागीले स्वेच्छाले आफ्नो स्वास्थ्य डेटा साझा गरेका छन्। यो मोडेललाई २.५ अर्ब घण्टाभन्दा बढी पहिरनयोग्य डेटामा तालिम दिइएको थियो र ५७ वटा स्वास्थ्यसम्बन्धी कार्यहरूमा परीक्षण गरिएको थियो।
विशेषगरी शरीरमा बिस्तारै परिवर्तन हुने अवस्थाहरू पहिचान गर्न यो मोडेल प्रभावकारी रहेको पाइयो। उदाहरणका लागि, गर्भावस्था पत्ता लगाउन यसले ९२ प्रतिशतसम्मको सफलता दर हासिल गरेको छ। यसमा एप्पल वाचमार्फत सङ्कलन हुने दैनिक गतिविधि, बायोमेट्रिक डेटा र फोटोप्लेथिस्मोग्राफी जस्ता सूचकहरू समावेश गरिएको छ।
अनुसन्धानकर्ताहरूका अनुसार हिँड्ने शैलीमा परिवर्तन, गतिविधिको ढाँचामा उतारचढाव र निद्राको समयावधिमा देखिने भिन्नता गर्भावस्थाका सबैभन्दा भरपर्दो प्रारम्भिक संकेत बन्न सक्छन्।
एप्पलले भविष्यमा यो एआई मोडेललाई अझ परिष्कृत गरी आफ्नो स्वास्थ्य सेवा सुविधामा थप गर्ने तयारी गरिरहेको छ।
FACEBOOK COMMENTS