काठमाडौं । नबिल बैंक लिमिटेडले आगामी साउन ६ गतेदेखि ८ वर्षे ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ को निष्कासन सुरू गर्ने भएको छ । यस डिबेन्चरमा वार्षिक ७ प्रतिशतको आकर्षक ब्याजदर उपलब्ध हुनेछ ।
बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अङ्कित मूल्यका कुल ३० लाख कित्ता (तीन अर्ब रुपैयाँ) डिबेन्चर निष्कासन गर्न लागेको हो । यसमध्ये ६० प्रतिशत (एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता) व्यक्तिगत बाँडफाँटका लागि राखिएको छ भने ४० प्रतिशत (एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता) सर्वसाधारणका लागि उपलब्ध गराइनेछ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये पाँच प्रतिशत (६० हजार कित्ता) सामूहिक लगानी कोषहरूका लागि आरक्षित गरिएको छ ।
लगानीकर्ताहरूले न्यूनतम २५ कित्ता (२५ हजार रुपैयाँ) देखि अधिकतम कुनै पनि सङ्ख्यामा आवेदन दिन सक्नेछन् । यो निष्कासन कार्यक्रम छिटोमा साउन ९ गतेसम्म चल्नेछ भने ढिलोमा साउन २० गतेसम्म पनि विस्तार हुन सक्नेछ ।
नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेडले यस डिबेन्चरको निष्कासन तथा बिक्री प्रबन्धन गर्नेछ । इच्छुक लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त कुनै पनि आस्बा सदस्य बैंक वा वित्तीय संस्थाको निर्धारित शाखा कार्यालयबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
इक्रा नेपालले नबिल बैंकलाई ‘इक्राएनपी इस्यूअर रेटिङ ए’ प्रदान गरेको छ, जसले बैंकले समयमै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको सङ्केत गर्दछ । यस डिबेन्चरबाट प्राप्त ब्याज आय प्रत्येक आर्थिक वर्षको पहिलो र दोस्रो अर्धवार्षिक अवधि समाप्त भएपछि कर कट्टी गरी भुक्तानी गरिनेछ ।
FACEBOOK COMMENTS