काठमाडौं । इरानका राष्ट्रपति मसुद पेजेश्कियान गत महिना इजरायलले गरेको हमलामा घाइते भएको खुलासा भएको छ ।
इरानको सरकारी समाचार एजेन्सी फोर्स न्यूजले यस्तो खुलासा गरेको हो ।
इस्लामिक क्रान्तिकारी गार्ड कोरसँग निकट रहेको फोर्स न्यूज एजेन्सीले जानकारी दिएअनुसार जुन १६ मा तेहरानको एक गोप्य भूमिगत स्थानमा आयोजित सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदको आपतकालीन बैठकमा राष्ट्रपति पेजेश्कियान सहभागी थिए ।
उक्त बैठकको क्रममा इजरायलले उक्त भूमिगत स्थानका प्रवेश मार्गहरूलाई ६ वटा बम आक्रमण गरेको थियो । एजेन्सीको दाबीअनुसार उक्त हमलामा राष्ट्रपतिको खुट्टामा चोट लागेको थियो ।
तथापि, फोर्स न्यूज एजेन्सीको यो रिपोर्ट स्वतन्त्र रूपमा पुष्टि भएको छैन । इजरायलले यस सम्बन्धमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
गत हप्ता नै इरानी राष्ट्रपतिले इजरायलले उनलाई मार्ने प्रयास गरेको आरोप लगाएका थिए । उक्त आरोपलाई इजरायली रक्षामन्त्री इसराइल कात्जले अस्वीकार गरिसकेका छन् ।
FACEBOOK COMMENTS