काठमाडौं । टिकटकले नेपालमा पहिलो पटक प्रसारण हुने व्यवसायिक रियालिटी शो शार्क ट्यांक नेपालसँग आफ्नो औपचारिक साझेदारीको घोषणा गरेको छ ।
यस साझेदारीअनुसार टिकटक शोको एक्सक्लुसिभ मनोरञ्जन पार्टनर बन्नेछ ।
विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय फ्रेन्चाइज ‘शार्क ट्यांक’ नेपालमा पहिलो पटक प्रसारण हुन लाग्दा टिकटकको साथले यो नेपाली मनोरञ्जन र उद्यमशीलता क्षेत्रमा ऐतिहासिक क्षणका रूपमा हेरिएको छ। यस कार्यक्रममार्फत नेपाली उद्यमीहरूले आफ्ना नवीन व्यावसायिक आइडिया प्रस्तुत गर्दै अनुभवी लगानीकर्ता ‘शार्क’ हरूसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाउनेछन् ।
टिकटक दक्षिण एशियाका कन्टेन्ट अपरेशन्स लिड उमैस नविदले भने, “शार्क ट्यांक नेपालसँगको यो सहकार्यले क्षेत्रीय कन्टेन्ट क्रियटरहरूलाई सशक्त बनाउने र प्रेरणादायी उद्यमशील यात्राहरू उजागर गर्ने हाम्रो दीर्घकालीन प्रतिबद्धतालाई बलियो बनाउँछ ।”
हाल शोका शार्कहरू टिकटकमा सक्रिय रूपमा संलग्न रहेका छन्, जहाँ उनीहरूले आफ्ना अनुभव र सुझावहरू दर्शकमाझ साझा गरिरहेका छन्।
यसले टिकटकमा उद्यमशीलता र व्यवसायिक स्टोरीटेलिङमा आधारित एक सक्रिय र भाइब्रेन्ट कम्युनिटी निर्माणमा योगदान दिइरहेको छ।
टिकटकले शोसँग सहकार्य गर्दै ‘लामो फर्म्याट’का कन्टेन्टहरू पनि प्रस्तुत गर्दैछ, जसले कार्यक्रमको विशेष क्षणहरू, पर्दामागका क्लिप्स, अन्तर्वार्ताहरू र शार्कहरूका प्रतिक्रिया दर्शकहरूसमक्ष पुर्याउनेछ।
हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले भने, नेपालमा शार्क ट्यांकजस्तो अन्तर्राष्ट्रिय शो ल्याउन पाउँदा गर्व लागेको छ। टिकटकसँगको साझेदारीले शोको प्रभाव र पहुँचलाई झनै फराकिलो बनाउनेछ।”
शोको #SharkTankNepal ह्यासट्याग टिकटकमा तीव्र गतिमा ट्रेन्डिङमा आइरहेको छ । १० दिनभित्र यो ह्यासट्यागअन्तर्गत शोको आधिकारिक अकाउन्टमा ४०,००० भन्दा बढी फलोअर्स पुगेका छन्।
यो सहकार्यले नेपालमा डिजिटल मनोरञ्जन र व्यवसायिक प्रस्तुतिको संयोजनमार्फत नयाँ युगको सुरुवात गरेको छ ।
टिकटक र शार्क ट्यांक नेपालको सहकार्यले नेपाली दर्शकहरूलाई ज्ञान, प्रेरणा, र उद्यमशील सोचप्रति आकर्षित गराउने विश्वास गरिएको छ।
FACEBOOK COMMENTS