काठमाडौं । नेकपा (एमाले) को पोलिटब्युरो बैठक पार्टी केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा आजबाट सुरु भएको छ।
बैठकले हालै सचिवालयले अनुमोदन गरेको नयाँ विधानमा छलफल गर्दै केन्द्रीय कमिटी बैठकमा पेश गर्ने तयारी गरेको हाे।
पार्टी स्रोतका अनुसार शुक्रबारको बैठकमा विशेषगरी पार्टीको संशोधित विधानमाथि केन्द्रित छलफल भइरहेको छ। यो विधानलाई स्वीकृति दिएपछि सोमबार (साउन ५ गते) बस्ने केन्द्रीय कमिटी बैठकमा विधिवत् रूपमा पेस गरिनेछ।
यसअघि, बिहीबार राति सम्पन्न केन्द्रीय सचिवालय बैठकले नयाँ विधानलाई स्वीकृति दिँदै २५१ सदस्यीय केन्द्रीय कमिटी तथा १५ सदस्यीय पदाधिकारी संरचना कायम गर्ने निर्णय गरेको थियो। त्यस्तै, पार्टीमा लागू हुँदै आएको ७० वर्ष उमेर हद र दुई कार्यकालको सिमांकनसम्बन्धी प्रावधानलाई हटाउने निर्णय पनि गरिएको छ।
पार्टीले विधान संशोधनमार्फत नेतृत्वको निरन्तरता र संगठनात्मक स्थायित्वलाई जोड दिन खोजिएको बताइएको छ। नयाँ विधानबाट भावी महाधिवेशनको तयारी, संगठन सुदृढीकरण तथा अनुशासनको कार्यान्वयनमा प्रभाव पार्ने अपेक्षा गरिएको छ।
एमालेले आगामी भदौ २०, २१ र २२ गते ललितपुरमा पार्टीको महाधिवेशन गर्ने तयारी गरिरहेको छ। उक्त महाधिवेशनलाई लक्षित गर्दै विधान संशोधन गरिएको जनाइएको छ।
पोलिटब्युरो बैठकले आज विधानबारे गहन छलफल गरेपछि अन्य समसामयिक राजनीतिक विषय र महाधिवेशन तयारीबारे पनि धारणा बनाउने तयारी गरेको छ।
FACEBOOK COMMENTS