काठमाडौं । नेपाली संगीतको लोकप्रिय रियालिटी कार्यक्रम ‘नेपाल आइडल’ मार्फत लाखौं दर्शकको मन जित्न सफल गायक रवि ओड अब युवा विद्यार्थीहरूको शैक्षिक यात्रामा मार्गदर्शकको भूमिकामा देखिने भएका छन् । उनी ट्याग इन्टरनेसनल एकेडेमी परामर्श संस्थाको ब्रान्ड प्रतिनिधि बने ।
सुदूरपश्चिमको गाउँबाट सुरु भएको रविको यात्रा, काठमाडौंहुँदै अमेरिका, अष्ट्रेलिया, जापानलगायत विभिन्न देशसम्म फैलिएको छ । सांगीतिक यात्राबाट हासिल अनुभव र अन्तर्राष्ट्रिय पहुँचलाई उनले अब शिक्षा तथा परामर्श क्षेत्रमा प्रयोग गर्न थालेका छन् ।
संस्थाका तर्फबाट व्यवस्थापक रोजन रिसालले भने, ‘रवि ओडजस्ता सच्चा र प्रेरणादायी व्यक्तित्वसँग सहकार्य गर्नु हाम्रो लागि गौरवको विषय हो । उहाँको अन्तर्राष्ट्रिय अनुभव, संगीत क्षेत्रमा प्राप्त सफलता र युवासँगको आत्मीय सम्बन्धले संस्थालाई अझ नजिक र भरपर्दो बनाउनेछ ।’
रवि ओडले यो सहकार्यलाई आफ्नो ‘जीवनको अर्को महत्वपूर्ण अध्याय’ का रूपमा लिएको बताए । ‘मैले देखेको संसार, भोगेका अनुभव र संगीतबाट पाएको ऊर्जा अब विदेश पढ्न चाहने विद्यार्थीहरूलाई प्रेरणा दिने माध्यम बन्नेछ । ट्यागसँग म केवल प्रतिनिधि होइन, तपाईंहरूको साथी बन्न आएको छु(जहाँ शिक्षा छ, त्यहाँ म पनि छु’, उनले भने ।
ट्याग इन्टरनेसनल एकेडेमी विदेश अध्ययनको तयारी गरिरहेका विद्यार्थीहरूलाई विश्वसनीय र व्यावसायिक मार्गदर्शन प्रदान गर्दै आएको संस्था हो । रवि ओडसँगको सहकार्यबाट संस्थाले अझ व्यापक पहुँच र प्रभाव विस्तार गर्ने लक्ष्य राखेको छ ।
FACEBOOK COMMENTS