काठमाडाैं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
उनले केही दिनअघि अखिल नेपाल फुटबल संघ (एन्फा) लाई इमेलमार्फत राजीनामा पठाएको बताइएको छ। यद्यपि, एन्फाले भने उनको राजीनामाबारे अझै कुनै औपचारिक निर्णय गरिसकेको छैन ।
उज्बेकिस्तानमा सम्पन्न एएफसी एसियन कप छनोट प्रतियोगितापछि वाइल्ड नेपाल नफर्कि सिधै बेल्जियम गएका थिए। त्यहाँ उनले सञ्चारमाध्यमहरूमा एन्फाले आफूलाई असहयोग गरेको, एन्फाको व्यवस्थापन कमजोर रहेको र नेपाली फुटबलको सुधारमा उनीहरूको अनिच्छा रहेको जस्ता आरोप लगाएका थिए। उनले टिमका खेलाडीहरू पेनाल्टी प्रहार गर्नसमेत नमानेको र खेलअघि प्रधानमन्त्रीसँग भएको कुराकानीले खेलाडीहरूमाथि दबाब बढेको पनि उल्लेख गरेका थिए।
वाइल्डका यी आरोपपछि उज्बेकिस्तान गएको नेपाली टोलीका अफिसियलहरूले असार २५ गते एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन आयोजना गरेका थिए। सो पत्रकार सम्मेलनमा उनीहरूले कप्तान चयन लगायतका विषयमा मुख्य प्रशिक्षक वाइल्डका कारण टिममा विवाद उत्पन्न भएको बताएका थिए।

एन्फाले गत जेठ २२ गते बेल्जियमका वाइल्डलाई राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो।


FACEBOOK COMMENTS