काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलोरका फास्ट बलर यश दयालविरुद्ध यौन दुर्व्यबहारको दोस्रो मुद्धा दर्ता भएको छ ।
जयपुरकी एक युवतीले यश दयालले उनलाई क्रिकेटमा करियर बनाउनको लागि प्रलोभन देखाएको र भावनात्मक रूपमा ब्ल्याकमेल गरेर दुई वर्षसम्म यौन शोषण गरेको आरोप लगाएकी हुन् । युवतीले उजुरी गरेपछि प्रहरीले क्रिकेटरविरुद्ध एफआईआर दर्ता गरेको छ ।
यश दयालमाथि यौन दुर्व्यवहारको आरोप लागेको यो दोस्रो पटक हो । यसअघि उत्तर प्रदेशको गाजियाबादकी एक युवतीले यशमाथि विवाहको बहानामा यौन शोषण गरेको आरोप लगाएकी थिइन् । यद्यपि, पछि यश दयालले यस मुद्दामा इलाहाबाद उच्च अदालतबाट राहत पाएका छन् ।
क्रिकेटका कारण ती युवती र यश दयाल सम्पर्कमा आएको थाहा भएको छ । युवतीले करिब दुई वर्षअघि उनी नाबालिग भएकै समयमा दयालले क्रिकेटमा करियर बनाउने बहानामा उनलाई बलात्कार गरेको आरोप लगाएकी छन् । यश दयाल २०२५ को आईपीएल खेल्न जयपुर पुगेको समयमा युवतीलाई होटलमा बोलाएर बलात्कार गरेको उनको आरोप छ ।
भावनात्मक ब्ल्याकमेल र निरन्तर शोषणबाट पीडित भएपछि पीडितले उजुरी दर्ता गरेको प्रहरीले जानकारी दिएको छ ।
जयपुरअघि गाजियाबादकी एक युवतीले यश दयालमाथि यौन शोषण, हिंसा र ठगीको आरोप लगाएकी थिइन् । पीडितले क्रिकेटरविरुद्ध कारबाहीको माग गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् । पीडितले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र प्रहरीलाई न्यायको लागि निवेदन दिएकी थिइन् । यति मात्र होइन, पीडितले यश दयालसँगको आफ्नो तस्बिर पनि सेयर गरेकी थिइन्।
पीडितले आफू पाँच वर्षदेखि यश दयालसँग सम्बन्धमा रहेको दाबी गरेकी थिइन्। यशले विवाहको प्रलोभन दिएर मानसिक र शारीरिक शोषण गरेको उनको आरोप छ ।
FACEBOOK COMMENTS