काठमाडौँ । इजरायलले गाजाको नियन्त्रण लिने सुरक्षा मन्त्रिपरिषद्को योजनाको बारेमा विश्वव्यापी रूपमा भइरहेको आलोचनालाई पूर्ण रूपमा अस्वीकार गरेको छ ।
इजरायलका रक्षामन्त्री इजरायल काट्जले इजरायलको निन्दा गर्ने र प्रतिबन्ध लगाउने धम्की दिने देशहरूले ’हाम्रो संकल्पलाई कमजोर’ नबनाउने बताए ।
उनले भने ’हाम्रा शत्रुहरूले हामीलाई बलियो, एकताबद्ध मुट्ठीको रूपमा पाउनेछन् जसले उनीहरूमाथि ठूलो बल प्रयोग गर्नेछ ।
संयुक्त राष्ट्र संघ, बेलायत, फ्रान्स र क्यानडा लगायत धेरै देशहरूले गाजाको नियन्त्रण लिने इजरायलको निर्णयको निन्दा गरे र जर्मनीले इजरायलमा सैन्य निर्यात रोक्न आह्वान गरेको छ ।
इजरायली सुरक्षा मन्त्रिपरिषद्ले शुक्रबार गाजाको नियन्त्रण लिने योजनालाई अनुमोदन गरेको थियो ।
इजरायलले गाजाको नियन्त्रण लिन र युद्ध अन्त्य गर्न हमासले आफ्ना हतियारहरू आत्मसमर्पण गर्नुपर्ने, सबै बन्धकहरूको फिर्ती, गाजाको निशस्त्रीकरण, गाजामा इजरायलको सुरक्षा नियन्त्रण र हमास र प्यालेस्टिनी प्राधिकरणबाट मुक्त वैकल्पिक नागरिक सरकार गरी पाँच एजेण्डामा काम गर्ने बताएको छ ।
इजरायली मिडिया रिपोर्टहरूका अनुसार, योजनाको पहिलो लक्ष्य गाजाको पूर्ण नियन्त्रण प्राप्त गर्नु र लगभग दस लाख मानिसहरूलाई दक्षिणमा सार्नु रहेको उल्लेख छ ।
इजरायली सेनाले मध्य गाजामा रहेका शरणार्थी शिविरहरू र बन्धकहरूलाई राख्न सकिने क्षेत्रहरूको नियन्त्रण पनि लिने बताएको छ ।
मिडिया रिपोर्टमा मानवीय सहायतामा वृद्धिसँगै केही हप्ता पछि दोस्रो आक्रमण सुरु हुने बताइएको छ ।सरकारको यस योजनाको इजरायल भित्र पनि विरोध भएको छ ।
यसको विरोध गर्नेहरूमा केही सैन्य अधिकारीहरू र गाजामा राखिएका बन्धकहरूका परिवारहरू रहेका छन् । शुक्रबार, बेलायत, जर्मनी, इटाली, न्यूजील्याण्ड र अष्ट्रेलियाका विदेश मन्त्रीहरूले संयुक्त विज्ञप्तिमा योजनालाई विनाशकारी भनेका छन् ।
FACEBOOK COMMENTS