नेपाली महिलाहरूको आस्था, श्रद्धा र सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण पर्व हो तिज । यो पर्वलाई भदौ महिनाको शुक्ल पक्षको तृतीयादेखि मनाइन्छ र यसलाई हरितालिका तिज पनि भनिन्छ ।
धार्मिक दृष्टिले तिजलाई देवी पार्वतीले भगवान् शिवलाई पतिका रूपमा प्राप्त गर्न कठोर व्रत गरेको दिनको सम्झनास्वरूप तिज पर्व मनाइन्छ । तिज सुरू हुनु अघिल्लो दिन ‘दर खाने दिन’ हुन्छ । त्यस दिन महिलाहरू आफन्तसँग भेला भई मीठा परिकार खाने, गीत गाउने र रमाइलो गर्ने परम्परा छ । तर, वर्तमान समयमा महिना दिन अघिदेखि नै मदिरासहित दर खाने, भड्किलो खर्च गर्ने र देखासिकी गर्ने प्रचलन बढेको छ ।
तिजको दिन बिहानै स्नान गरी रातो र हरियो पहिरनमा सजिएर महिलाहरू व्रत बसी शिव–पार्वतीको पूजा गर्छन् । व्रत सामान्यतया निराहार राखिन्छ, जसले नारीको दृढ श्रद्धा र समर्पण झल्काउँछ ।
तिजको अर्को मुख्य आकर्षण भनेको सामूहिक नाचगान हो । महिलाहरू मन्दिर, आँगन वा सामुदायिक स्थलमा भेला भई तीजगीत गाएर नाच्छन् । यी गीतहरूले नारीको भावनात्मक जीवन, खुसी, दु:ख र सामाजिक सन्देशलाई उजागर गर्छन् ।
आधुनिक समाजमा तिजको महत्व अझै व्यापक बनेको छ । यो केवल धार्मिक पर्व मात्र नभई नारीहरूको भेटघाट, आत्मबल, अधिकारको अभिव्यक्ति र संस्कृतिको संरक्षणको माध्यमका रूपमा स्थापित भएको छ ।
अहिलेको तिज पहिलेको तुलनामा धेरै रूपले परिवर्तन भएको छ । पहिले मुख्य रूपमा धार्मिक व्रत र शिव–पार्वतीको पूजा केन्द्रित भए पनि अहिले तिज सांस्कृतिक, सामाजिक र मनोरञ्जनात्मक चाडका रूपमा पनि फैलिएको छ ।
आजकालको तिजमा महिलाहरू मात्र नभई पुरुषहरू पनि सक्रिय रूपमा सहभागी हुन्छन् । दर खाने दिनदेखि नै परिवार, साथी–भाइ र समुदायबीच भेटघाट, नाचगान, फोटो–भिडिओ खिच्ने, सामाजिक सञ्जालमा पोस्ट गर्ने चलन बढेको छ ।
पहिले तीज गीतहरू प्राय: धार्मिक र पारम्परिक बन्थे भने अहिलेको तिजमा आधुनिक शैलीका, पप वा रिमिक्स गीतहरू समेत बज्ने गरेको छ । यसले हाम्रो मौलिकपनलाई क्रमश: क्षति गर्दै लगेको छ । त्यसकारण तिजको मौलिकपन जोगाउनका लागि केही महत्वपूर्ण कदमहरू हामी आफैंले चाल्नुपर्ने आवश्यकता छ ।
हाम्रो मौलिक परम्परा र संस्कृतिहरूबारे नयाँ पुस्तालाई जानकारी दिएर तिजलगायत महत्वपूर्ण पर्वहरूको संरक्षण गर्नुपर्छ । त्यसका लागि विद्यालय, कलेज र समुदायमा तिजको इतिहास, महत्व र परम्पराका बारेमा शिक्षा दिन सकिन्छ ।
यस्तै, तिजका गीत, नाच र परम्पराहरूको सांस्कृतिक सन्देश बुझाउने कार्यक्रम सञ्चालन गर्नुपर्छ, मौलिक लोकगीत र भाका संरक्षण गर्न मौलिक तिज गीतहरू (लोक गीतहरू) सङ्कलन, अभिलेखन र प्रवर्द्धन गर्नुपर्छ ।
तिजमा अत्यधिक खर्च, ब्रान्डेड पहिरन र भड्किलो प्रदर्शनले मौलिकता हराउने खतरा बढेको छ । यति तिजको मौलिकपन जोगाएर राख्ने हो भने सादगी, सामूहिकता र सांस्कृतिक मूल्यमा आधारित तिज मनाउने परम्पराको पुन: विकास गरिनुपर्दछ ।
यसैगरी, परम्परागत परिकार र खानपानको संरक्षण गर्नुपर्छ । तिज एउटा सांस्कृतिक धरोहर हो । यसको मौलिकता जोगाउन व्यक्तिगत र सामाजिक तहमा सचेत प्रयास आवश्यक छ ।
FACEBOOK COMMENTS