काठमाडौं । अटो व्यवसायीहरूको महत्वपूर्ण ‘चाड’ नाडा आटो शो काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको छ ।
नाडा अटोमोबाइल्स एसोसिएशन अफ नाडाको आयोजनामा आजदेखि सुरू भएको १७औँ संस्करणको नाडा अटो शो आज मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । सो अवसरमा उनले नेपालमै पहिलो पटक ल्याइएको उड्ने कार ‘फ्लाइङ ट्याक्सी’ पनि सार्वजनिक गरेका छन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेपालमा लगानी र काम गर्न कुनै बाधा नरहेको बताए । वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको बताउँदै नेपालले पनि त्यस प्रकारको विकासको सहज उपभोग गर्ने स्थिति बनाउनुपर्नेमा जोड दिए ।
नयाँ ढंगले काम गर्ने युवाहरूलाई सरकारले सबै खालको साथ दिने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री ओलीले नेपाली नागरिकहरू असन्तुष्ट हुनुपर्ने कुनै कारण नरहेको दाबी गरे ।
‘हामीले अग्रगमन र आधुनिकीकरणका लागि नीतिगत व्यवस्थाहरु र पूर्वाधार विकास गरेका छौँ । लगानी र काम गर्न कुनै बाधा छैन । अहिले असन्तुष्ट हुनुपर्ने कुनै कारण छैन । कोही असन्तुष्ट नै हुन्छु भनेर कसम खाएको छ भने त केही लाग्दैन,’ उनले भने, ‘उत्तर र दक्षिणतिर नयाँ र पक्की मार्गहरु बन्दैछन्, अन्तर्राष्ट्रिय विमानस्थल थपेका छौँ । हरित उर्जा, मिथेन ग्यास, धौवादी फलामको उत्पादन गरेर प्रयोग गर्दैछौं । प्रविधिको रुपान्तरण भैसकेको छ । यी सबैको ध्येय विकास र समृद्धि हो । यसमा तपाईंहरु ढुक्कले अगाडि बढ्नुस् । देशका लागि योगदान दिनुहोस् ।’
यस्तै उनले सरकारले पूर्वाधार बनाउनुपर्ने भन्दै हुलाकी राजमार्ग डबल लेनमा विकास गरिररहेको चर्चा गरे ।
कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीले नीतिगत व्यवस्थादेखि व्यवसायीको मनोबल बढाउन समेत काम गर्दै आएको बताए । ‘युवा शक्ति पलायन हुन रोक्न नाडाले सीप दिने र रोजगारी पनि दिन्छ, त्यसका लागि श्रम मन्त्रालयसँग सम्झौता भइसकेको छ,’ उनले भने, ‘पहिलो पटक नेपालमा ह्युमनाइड रोबोट र फ्लाइङ कार सार्वजनिक गरेका छौं । यसले नेपालमा एअर मोबिलिटीको बहस सृजना गर्दै त्यससँग सम्बन्धित नीति निर्माणमा सहजता ल्याउने विश्वास हामीले गरेका छौँ ।’
अटो शो प्रदर्शनी केन्द्र मात्र नभई व्यावसायिक थलो भएको भन्दै उनले कुल बिक्रीको ४० प्रतिशत सवारी अटो शोबाट नै बिक्री हुने गरेको तथ्य सुनाए ।
नाडा अटो शो आजदेखि सुरू हुँदै, प्रमुख आकर्षणमा उड्ने कार ‘ईभीटोल’
FACEBOOK COMMENTS