काठमाडौं । हरेक वर्ष दसैं र तिहारलगायत चाडपर्वहरूलाई लक्षित गरी आयोजना हुँदै आएको ‘नाडा अटो शो’ यस वर्ष पनि भव्यताका साथ सञ्चालन भइरहेको छ ।
काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो, २०८२’ मा नयाँ–नयाँ विद्युतीय कारहरू तथा रोबोटिक्सदेखि फ्लाइङ ट्याक्सीसम्म प्रदर्शन भइरहेका छन् । जसले आम दर्शक र उपभोक्ताहरूको ध्यान खिचिरहेको छ । यस्तै, शोमा विभिन्न कम्पनीहरूले ल्याएको बम्पर अफरहरूले त उपभोक्ताको ध्यान खिच्ने मात्र होइन जसरी हुन्छ गाडी त किनौँ किनौँ लाग्ने बनाइरहेको छ ।
अझ यस वर्ष अटोप्रेमीहरूका लागि एक पछि अर्काे गरी दुइटै हातमा लड्डु भने जस्तै भएको छ । नाइमाले पहिलोपटक आयोजना गरेको मोबिलिटी एक्स्पो सकिएको एक हप्ताकै अन्तरालमा आयोजना भएको नाडा अटो शोले ग्राहकहरूका लागि बम्पर अफर ल्याएर अटो पारखीहरूलाई आकर्षण गर्न सफल भएको छ ।
एक हप्ता अगाडि नाइमा नेपाल मोबिलिटी एक्स्पोले २५ लाखसम्मको छुट दिएर ग्राहकको मन जितेको थियो । नाडाले त्यस्तै अस्वस्थ स्वरूपको छुट त दिएको छैन, तर विभिन्न अफर र उपहारको सप्राइज दिएर आफ्नो उपभोक्ता र शोका दर्शकहरूको ध्यान खिचेको छ ।
अघिल्लो वर्षको अटो शोमा कम्पनीहरूले १० लाख रूपैयाँसम्मको छुट दिएका थिए । यो वर्ष कतिपयले नगद र कतिपयले लाखौँ रूपैयाँ बराबरको जिन्सी सामग्री उपलब्ध गराएर उपभोक्तालाई आकर्षित गरेको देखिन्छ । गाडी बुकिङ गर्नेहरूका लागि कम्पनीले गाडीमा विशेष छुट, आकर्षक उपहारलगायतको प्याकेज ल्याएका छन् ।
अटो शोमा सीजी मोटर्सले रिडारा, सुजुकी, स्काइवेल, एक्सपेङका गाडीहरूमा विशेष छुट दिएको छ । त्यसैगरी एमएडब्ल्यू वृद्धिले डोङफेङ नामी, फोटोन र सोकोन गाडीहरूमा छुट दिएको छ ।
कुन गाडीमा कति छुट ?
रिडारा
नेपालको लागि रिडाराको आधिकारिक वितरक सीजी मोटर्सले रिडारामा विशेष छुट ल्याएको छ । सीजी मोटर्सले रिडारा आरडी सिक्स इलेक्ट्रिक पिकअपमा आकर्षक नगद छुटको घोषणा गरेको हो । कम्पनीले दुईवटा मोडल टु ह्विल ड्राइभ र फोर ह्विल ड्राइभ दुवैमा छुट उपलब्ध गराएको छ । फोर ह्विल ड्राइभ मोडलमा तीन भेरियन्टहरू छन् । जसको बेस भेरियन्टमा दुई लाख रूपैयाँ नगद छुट दिइएको छ । छुटसहित यसको मूल्य ७७ लाख ९९ हजार रूपैयाँ पर्छ ।
पुरानो गाडी साटेर किन्न चाहनेहरूका लागि भने एक्सचेञ्ज अफरमार्फत थप तीन लाख रूपैयाँ छुटको व्यवस्था गरिएको छ । जसले गर्दा यो पिकअप ७४ लाख ९९ हजार रूपैयाँमा खरिद गर्न सकिन्छ । त्यस्तै, टु ह्विल ड्राइभ मोडलमा पनि तीन लाख रूपैयाँ छुट दिइएको छ । यसको बजार मूल्य ६६ लाख ९९ हजार रूपैयाँ भए पनि छुटपछि ६३ लाख ९९ हजार रूपैयाँ मा किन्न सकिनेछ । यसमा पनि तीन लाखको एक्सचेन्ज बोनस उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
त्यसैगरी कम्पनीले ६.६ किलोवाट र ३.३ किलोवाटको चार्जर, एक वर्षको अटो प्लस इन्स्योरेन्स र एक वर्षको रोड ट्याक्स छुट पनि दिने जनाएको छ । सीजीले एक्स्पेङ जी सिक्समा पनि चार लाख रूपैयाँ नगद छुट दिइएको छ ।
सुजुकी
नेपालका लागि सुजुकीको आधिकारिक विक्रेता सीजी मोटर्सले नाडा अटो शो २०२५ को लागि ‘सुजुकी पर्वाेत्सव अफर’ नामक अफर ल्याएको छ । जसअन्तर्गत गाडी किन्ने ग्राहकहरूले ६ लाख रूपैयाँसम्मको नगद छुट, एक वर्षको सवारी बीमा, ६ वर्षसम्मको नि:शुल्क पीएमएस पाट्र्स र दुई लाख रूपैयाँसम्मको एक्सचेञ्ज बोनस प्राप्त गर्न सक्नेछन् साथै, गाडीका आकर्षक एसेसरिज पनि साथमा पाइने छ ।
अटो शोको विशेष अवसरमा, शो अवधिभर सुजुकी गाडी किन्ने ग्राहकलाई स्क्र्याच कार्डमार्फत थप एक लाख रूपैयाँसम्मको नगद जितेर छुट लिन सकिने मौका पनि छ । त्यसैगरी, १० जना भाग्यशाली ग्राहकले एक–एक तोला सुन जित्ने अवसर पाउनेछन् । त्यस्तै अल्टो र सेलेरियो मोडलहरूमा गाडी किन्ने ग्राहकहरूले एक वर्षसम्म शून्य ब्याज दरमा फाइनान्स सुविधा पनि लिन सक्नेछन् ।
स्काइवेल
नेपालका लागि स्काइवेलको आधिकारिक बिक्रेता सीजी मोटर्स प्रालिले नाडा अटो शोको लागि निकै रोचक अफर ल्याएको छ । स्काइवेलको गाडी बुकिङ गर्दा ग्राहकले युरोप टुर प्याकेज जित्ने अवसर पाउनेछन्, त्यो पनि सपरिवार ।
त्यसैगरी यस अफरलाई अझ विशेष बनाउँदै सीजीले गाडी बुक गर्ने प्रत्येक ग्राहकलाई डायमन्ड नेकलेस उपहार दिनेछ । लक्की–ड्रमार्फत रोलेक्स घडी पनि जित्न सकिने छ । त्यसैगरी, स्काइवेलले ८० प्रतिशतसम्म फाइनान्स सुविधा र एक वर्षको सवारी कर कम्पनीले नै बेहोर्ने बताएको छ ।
नामी
नाडा अटो शोमा सार्वजनिक भएको नामी ०६ मा पनि ग्राहकका लागि एक लाख रूपैयाँसम्मको छुटको व्यवस्था रहेको छ । नाडा अटो शोमा दुई भेरियन्टमा सार्वजनिक गरेको नामी–०६ ई–२ छुटसहित ३७ लाख ९९ हजार र ई–२ प्लसको मूल्य ४० लाख ९९ हजार रूपैयाँमा किन्न सकिने छ । नामी–०६ ई–२ को वास्तविक मूल्य ३८ लाख ९९ हजार र ई–२ प्लसको ४१ लखा ९९ हजार रूपैयाँ रहेको छ ।
टाटा
नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले पनि विशेष छुट ल्याएको छ । टाटाको इलेक्ट्रिक गाडी किन्दा लाइफटाइम फ्री चार्जिङ सुविधा पाइने रोचक अफर ल्याएको छ ।
जुन सुकै चार्जिङ स्टेशनमा गए पनि बिनाशुल्क नै चार्ज गर्न सकिने छ । त्यस्तै, तीन वर्षको नि:शुल्क सर्भिसिङ, नि:शुल्क अटो प्लस इन्स्योरेन्स, रुचीकर एक्सेसरिजहरू, एक वर्षको सवारी कर कम्पनीले नै तिर्ने व्यवस्था, घरमै नि:शुल्क चार्जिङ स्टेसनको इन्स्टलेसन र नि:शुल्क इम्बोस्ड नम्बर प्लेटको जडान पनि गरिने अफर ल्याएको छ ।
यो पनि पढ्नुहोस्–
सीजी मोटर्सका पाँचवटै स्टलमा सरप्राइज छ, अवश्य भिजिट गर्नुहोस् (भिडिओ वार्ता)
‘वर्कशप इक्वेपमेन्ट सप्लाइमा हिट्कोले ८०% मार्केट होल्ड गरेको छ, गुणस्तरमा सम्झौता गर्दैनौँ’
अटो व्यवसायीहरूको महत्वपूर्ण ‘चाड’ नाडा आटो शो सुरू, प्रधानमन्त्रीले गरे उद्घाटन (तस्बिरहरू)
FACEBOOK COMMENTS