काठमाडौं । रोल्पाली चेली फाउन्डेसनको आयोजनामा तीजको दर विशेष कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ । नेपाली चेलीहरूको एकता, संस्कृति, माया र सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रमबारे फाउन्डेसनकी अध्यक्ष यमुना केसीले जानकारी दिइन् ।
कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति, सम्मान तथा मनोरञ्जनात्मक गतिविधिहरू प्रस्तुत गरिएका थिए । प्रमुख अतिथि पूर्व सभामुख ओनसरी घर्तीले नेपाली महिलाहरूको सक्रियता, सामाजिक उत्तरदायित्व तथा संस्कृतिको संरक्षणमा यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरिन् ।
त्यसैगरी, विशिष्ट अतिथि पूर्व मन्त्री जय पुरी घर्ती, माननीय राजन दाहाल, उद्योग वाणिज्य महासंघकी केन्द्रिय अध्यक्ष भवानी राणा, महिला उद्यमी सुष्मा महरा लगायत समाजसेवी व्यक्तित्वहरू, महिला समाजका अगुवाहरू, दिदीबहिनी र दाजुभाइहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
दर खाने कार्यक्रममा सहभागी महिलाहरूले तीजको उल्लासमय वातावरणमा गीत–संगीत र नृत्यमार्फत मनोरञ्जन प्रस्तुत गरेका थिए । लोकप्रिय कलाकार तथा गायिकाहरूले प्रस्तुत गरेका तीज विशेष गीतहरूले कार्यक्रममा थप रौनक भरिदिएका थिए ।
रोल्पाली चेली फाउन्डेसन विगतदेखि नै सामाजिक सेवा, महिलाको सशक्तिकरण र सांस्कृतिक संरक्षणमा सक्रिय रहँदै आएको छ । आयोजकले यस्ता कार्यक्रमहरूले आन्तरिक एकता, आपसी सहयोग र संस्कृतिको पहिचानलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेको छ ।
FACEBOOK COMMENTS