काठमाडौँ । दक्षिणी गाजाको एक अस्पतालमा इजरायली क्षेप्यास्त्र आक्रमणमा चार पत्रकारसहित २० जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अल जजीरा र रोयटर्सका पत्रकार समेत रहेका छन् ।
अल जजीराका अनुसार गाजाको स्वास्थ्य मन्त्रालयले यो आक्रमण ‘डबल–ट्याप’ आक्रमण भएको बताएको छ । जसमा लगातार दुई क्षेप्यास्त्र आक्रमण भएका थिए ।
यसले उद्धार कार्यलाई अझ खतरनाक बनाएको बताइएको छ । इजरायली सेनाले अहिलेसम्म यस आक्रमणको बारेमा कुनै बयान दिएको छैन।
यद्यपि, इजरायलले पहिले हमास आतंककारीहरूले त्यहाँ कमाण्ड र नियन्त्रण केन्द्रहरू सञ्चालन गरिरहेको भन्दै अस्पतालहरूमा आक्रमणलाई जायज ठहराएको छ ।
पत्रकारहरूको सुरक्षा समितिका अनुसार, इजरायल–हमास द्वन्द्वमा अहिलेसम्म १९२ पत्रकार मारिएका छन् । केही मिडिया रिपोर्टहरूले २०० भन्दा बढी पत्रकार मारिएको बताएका छन् ।
यस युद्धको तुलनामा, रूस–युक्रेन युद्धमा अहिलेसम्म १८ पत्रकार मात्र मारिएका छन् । गाजाको स्वास्थ्य मन्त्रालयले यस युद्धमा हालसम्म ६२ हजार ६८६ प्यालेस्टिनीहरू मारिएको बताएको छ । मारिएका मध्ये आधा महिला र बालबालिका रहेको बताइएको छ ।
FACEBOOK COMMENTS