वीरगंज । हैजाको संक्रमणको सामना गरिरहेको वीरगंज महानगरपालिका क्षेत्रमा जापानिज इन्सेफलाइटिसको संक्रमण पुष्टि भएको छ ।
महानगरले पर्सा जिल्लामा जापानिज इन्सेफलाइटिसका २५ वटा रिपोर्टेड केश मध्ये र २ वटा पुष्टि भएको र जसमध्ये १ वटा केश वीरगंज महानगर–५ मा पुष्टि भएको जानकारी दिएको छ ।
महानगरले यस अवस्थालाई मध्यनजर गर्दै वीरगंज महानगरपालिकाभित्र यस रोगको संक्रमण फैलिन नदिन विशेष सतर्कता र सावधानी अपनाउन सम्पूर्ण सुँगुर तथा बंगुरपालक किसानलाई अनुरोध गरेको छ ।
यससँगै, सुँगुर र बंगुरको अनावश्यक ओसारपसार नगर्न र रोगसँग मिल्दोजुल्दो कुनै पनि लक्षण देखापरेमा तत्कालै महानगरपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न आग्रह गरेको छ ।
डेंगु, इन्सेफ्लाइटिस, मलेरिया जस्ता प्राणघातक रोग फैलाउने लामखुट्टे नियन्त्रणका लागि वीरगंज महानगरले ३२ वटै वडामा औषधि छर्कने अभियान सुरु गरेको बताएको छ ।
महानगरमा सरसफाइ संयोजक जयप्रकाश खेतानको नेतृत्वमा ५ वटा गाडी र २० जनाको प्राविधिक टोली परिचालन गरी नाला तथा पोखरीमा स्प्रेमार्फत औषधि छर्कने कार्य सुरु भएको जनाइएको छ ।
महानगर ले गोठ तथा वरिपरिको स्थान सफा राखी पानी जम्न नदिन गोठ वा खेत जानेबेला पूरै शरीर ढाक्ने कपडा प्रयोग गर्न, परिवारका सदस्यलाई जापानिज इन्सेफलाइटिसको खोप अनिवार्य लगाउन आग्रह गरेको छ ।
FACEBOOK COMMENTS