काठमाडौं । भ्रष्टाचार र कुशासनविरुद्ध जेन्जी समूहले गरेको आन्दोलनमा मिसिएर लुटपाट मच्चाउने समूहरूलाई नेपाली सेनाले धमाधम नियन्त्रणमा लिन थालेको छ ।
यसैबीच डिल्लीबजार नारायणथान क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरुले लुटपाटको रकम छोडेर भागेका छन् । नेपाली सेनासहितको सुरक्षा फौजलाई देखेपछि उनीहरूले दुई लाख ३२ हजार ५०० रुपैयाँ र दुई हजार ५०० अमेरिकी डलर छोडेर भागेको नेपाली सेनाले जनाएको छ ।
यस्तै, सेनाले आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको अवधिमा महाराजगञ्जस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्ने थप चार जनालाई नियन्त्रणमा लिएको छ । देशैभर नेपाली सेनालगायत अन्य सुरक्षा निकायहरू परिचालन भएपश्चात मिति २०८२ भदौ २५ गतेको बिहान १० बजेदेखि दिउँसोको १ बजेसम्म महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केट लुटपाटमा संलग्न चार जना पक्राउ परेका हुन् ।
यस्तै, सुरक्षाकर्मीबाट लुटिएका थप हतियार १ नालसहित हालसम्म जम्मा ३२ नाल हतियार बरामद गरेको छ । साथै, डडेलधुरास्थित जिल्ला कारागारबाट निस्केर भागेका कैदीवन्दीहरु मध्ये २६ जनालाई नियन्त्रणमा लिइएको तथा काठमाडौं डिल्लीबजारस्थित सदर कारागारबाट भाग्ने प्रयास गरेका कैदीवन्दीहरूलाई रोकिएको छ ।
FACEBOOK COMMENTS