काठमाडौं । भदौ २३ गतेदेखि सुरु भएको जेन्जी आन्दोलनले गण्डकी प्रदेशमा मात्रै ठूलो आर्थिक क्षति पुर्याएको छ।
नेपाल बीमा प्राधिकरणको प्रारम्भिक विवरण अनुसार, भदौ ३० गतेसम्ममा प्रदेशभरबाट १५९ वटा बीमा दाबी दर्ता भएका छन्, जसको रकम एक अर्ब १३ करोड ४० लाख रुपैयाँ पुगेको छ।
बीमा कम्पनीहरूमा सबैभन्दा बढी दाबी हिमालयन एभरेष्ट इन्स्योरेन्समा परेको छ, जहाँ ९ वटा दावीमार्फत ५० करोड रुपैयाँको दाबी गरिएको छ। त्यसपछि सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ५० वटा दाबी दर्ता भई ३५ करोड रुपैयाँको दाबी परेको छ। कम्पनीले दावी छिटो निस्कासन गर्न विशेष कर्मचारी र सर्भेयर खटाएको जनाएको छ।
त्यस्तै, नेको इन्स्योरेन्समा १६ वटा दाबीबाट ४ करोड ४५ लाख, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा १५ वटा दाबीबाट ५ करोड, र राष्ट्रिय बीमा कम्पनीमा २० वटा दाबीबाट ७ करोड रुपैयाँको प्रारम्भिक बीमा दाबी परेको छ।
अन्य कम्पनीहरूमा पनि लाखौंदेखि करोडौंसम्मको दाबी दर्ता भइरहेको छ। द ओरियण्टल इन्स्योरेन्समा १३ वटा दाबीबाट ३ करोड, आइजिआई प्रुडेन्सियलमा ३ वटा दाबीबाट ३ करोड १५ लाख, सानिमा जिआईसीमा ११ वटा दाबीबाट २ करोड, युनाइटेड अजोड इन्स्योरेन्समा ६ वटा दाबीबाट २ करोड, शिखर इन्स्योरेन्समा ५ वटा दावीबाट ७५ लाख, एनएलजीमा ६ वटा दाबीबाट ८० लाख, र नेपाल माइक्रो इन्स्योरेन्समा ५ वटा दाबीबाट २५ लाख रुपैयाँको दाबी परेको छ।
नेपाल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स, र कसै–कसै माइक्रो इन्स्योरेन्स कम्पनीहरूमा भने अहिलेसम्म कुनै दावी नपरेको प्राधिकरणले जनाएको छ।
नेपाल बीमा प्राधिकरणले आन्दोलनपीडितलाई छिटो राहत दिन सबै बीमा कम्पनीहरूलाई दाबी संकलन र भुक्तानी प्रक्रिया छरितो बनाउन निर्देशन दिइसकेको छ। बीमा दावी प्रक्रिया सहज र प्रभावकारी बनाउने लक्ष्यसहित प्राधिकरण सक्रिय रहेको छ।
FACEBOOK COMMENTS