पोखरा । गण्डकी प्रदेश सरकारले आफू र आफू मातहतका कार्यालयहरुले गर्ने सेमिनार, भ्रमण र तालिम खर्च पुर्ननिर्माणमा लगाउने निर्णय गरेको छ ।
गण्डकी प्रदेश सरकारको शुक्रबार बसेको बैठकले चालु आर्थिक वर्षका लागि विनियोजित बजेटमध्ये तालुक कार्यक्रम, सेमिनार, भ्रमण र तालिम स्थगित गरेर सो बापतको खर्च पुर्ननिर्माण र मर्मतसम्भारमा लगाउने निर्णय गरेको हो । साथै कार्यक्रम गर्नैपर्ने भएमा होटल तथा रिसोर्टमा नभई मन्त्रालयकै हलमा गर्न निर्देशन दिइएको छ ।
गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयसहित अधिकांश मन्त्रालय, गण्डकी प्रदेश सभासहित विभिन्न निर्देशनालय र कार्यालयहरुमा तोडफोड र आगजनी भएको थियो ।
सो क्रममा प्रदेश सरकार मातहतका करीब ५० वटा चारपाङ्ग्रे गाडी र ११२ वटा भन्दा दुई पाङ्ग्रे गाडी तोडफोड तथा आगजनी भएको थियो । प्रदेश सरकार र मातहतका कार्यालयबाट कार्यक्रम, सेमिनार, भ्रमण र तालिम खर्च हुने गरेको छ ।
जसमा प्रदेश सरकारको करोडौंको रकम खर्च हुने गरेको थियो । सो सबै कार्यक्रम रोकेर सोबाट हुने रकम पुर्ननिर्माण र मर्मत सम्भारमा लगाउने निर्णय भएको गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङले जानकारी दिएका छन् ।
साथै गण्डकी प्रदेश सरकारले प्रदेश सरकार मातहतका पदाधिकारीहरूको बैठक भत्ता पनि रोक्ने निर्णय गरेको छ । बैठकले सरकार मातहतका पदाधिकारीले बैठक भत्ता नलिने निर्णय गरेको हो ।
यसमा सरकारका मुख्यमन्त्री, मन्त्रीहरु, राजनीतिक नियुक्ति पाएका योजना आयोगका उपाध्यक्ष र सदस्यहरु, प्रदेश न्यायाधिवक्ता र कर्मचारीको पनि बैठक भत्ता कटौति गरिएको मन्त्री गुरुङले जानकारी दिएका छन् ।
FACEBOOK COMMENTS