काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर.थम्पसनबीच शिष्टाचार भेटवार्ता भएको छ । बुधबार सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई राजदूत थम्पसन अमेरिकातर्फबाट बधाई दिनुकासाथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
भेटमा नेपाल–अमेरिकी सहयोग, अमेरिकी सहयोगमा सञ्चालित आयोजनाको कार्यान्वयन अवस्था, जेन—जी आन्दोलनको क्रममा क्षति पुगेका सार्वजनिक संरचनाको पुनर्निर्माणलगायतका विषयमा छलफल भएको थियो । भेटमा मन्त्री घिसिङले अहिलको सरकारको मुख्य प्राथमिकताको रुपमा आन्दोलनका कारण क्षति भएका संरचनाको पुनर्निर्माण, आम चुनाव र सुशासन कायम गर्नु रहेको बताए । राजदूत थम्पसन अमेरिकले नेपाललाई गर्दै आएको सहयोग जारी रहने उल्लेख गरेका थिए ।
२- सरकारले भाद्र २३ र २४ गते भएको आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माणको लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोष खडा गरेर सहयोग आव्हान गरेको छ । क्षतिग्रस्त संरचना पुनर्निर्माण तथा मर्मत, आर्थिक पुनरुत्थान, राहत र पुनर्स्थापना सम्बन्धी कार्यलाई तत्काल व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रिपरिषदको भदौ ५ गते आइतबार बसेको बैठकले आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरूत्थान, राहत र पुनर्स्थापना सम्बन्धी कार्यको लागि स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा योगदान गर्न आव्हान गरेको हो । सरकारले आर्थिक सहायता रकम योगदानकर्ताको चालु आर्थिक वर्षको करयोग्य आय गणना गर्दा घटाउन र खर्च कट्टी गर्न पाइने व्यवस्था गरेको छ ।
३- थाइल्याण्डस्थित नेपाली दुताबासले म्यानमारबाट दुई नेपाली युवाको उद्धार गरेको छ । अनलाइन स्क्यामिङ्ग कार्यमा लगाइएका नेपाली नागरिकहरूलाई नेपाली राजदूतावासले थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको म्यावडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्याण्ड ल्याएजो दुतावासले जानकारी गराएको छ ।
उनीहरुलाई आजै नेपाल फर्काइएको छ । सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतु कम्वोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायत वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावास सम्बन्धित सबैमा दुताबासले अनुरोध गरेको छ ।
४- अर्थमन्त्री रामेश्वर खनालले पाँच सय र एक हजार दरका नोटको नोटबन्दी गर्ने हल्लामा सत्यता नभएको बताएका छन् । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संन्क्षिप्त कुरा गर्दै मन्त्री खनालले नोटबन्दी गर्ने विषयमा कुनै सोच नै नभएको बताएका हुन् । उनले भने- यस विषयमा केहि सोच बनेको छैन, त्यतिकै बोल्न मिल्दैन ।
त्यस्तै मन्त्री खनालले प्रदेश संरचना खारेज बारे सोधिएको प्रश्नमा संविधान अनुसार बनेका संरचना खारेज नहुने स्पष्ट गरेका थिए । भारत सरकारले जिएसटी गरेको परिवर्तनको नेपालमा असरका बारेमा सोधिएको प्रश्नमा अर्थमन्त्री खनालले आम मानिसको धारणा एकातिर भएको र तथ्यांकले क्षति पुग्ने नदेखिएको बताए । उनले कुनै क्षति पुग्ने अवस्था भए सुधार गर्ने बताए ।
५- भारतको केन्द्र शासित प्रदेश लद्दाखलाई पूर्ण राज्यको दर्जा दिनुपर्ने माग गर्दै हिंसात्मक प्रदर्शन भएका छन् । विद्यार्थीहरूले प्रहरी र सुरक्षा बलसँग झडप भएको छ । मिडिया रिपोर्ट अनुसार प्रदर्शनकारीले भारतीय जनता पार्टीको कार्यालयमा आगजनी गरेका छन् भने प्रहरीमाथि ढुङ्गा प्रहार गरे र सीआरपीएफको गाडीमा आगजनी गरेका छन् । यी विद्यार्थीहरू विगत १५ दिनदेखि आमरण अनशनमा रहेका सामाजिक कार्यकर्ता सोनम वाङचुकको समर्थनमा विरोध प्रदर्शन गरिरहेका थिए । पूरा नभएका मागहरूको विरोधमा प्रदर्शनकारीहरूले आज बन्दको आह्वान गरेका थिए, जसले गर्दा हिंसा भएको बताइएको छ । हिंसा पछि, वाङचुकले भने- ‘यो लद्दाखको लागि दुखद दिन हो ।
हामी पाँच वर्षदेखि शान्तिको बाटोमा हिँडिरहेका छौं । हामीले उपवास बस्यौं, लेहबाट दिल्लीसम्म पैदल हिँड्यौं । आज, हामी शान्तिको सन्देश असफल भएको देखिरहेका छौं । हिंसा, गोलीबारी र आगजनी भइरहेको छ । म लद्दाखको युवा पुस्तालाई यो मूर्खता रोक्न अपील गर्दछु । हामी हाम्रो अनशन तोड्दैछौं र विरोध प्रदर्शन बन्द गर्दैछौं ।’ यी मागहरू सम्बन्धी अर्को बैठक अक्टोबर ६ मा दिल्लीमा हुनेछ । २०१९ मा धारा ३७० र ३५ए खारेज गर्दा जम्मू कश्मीर र लद्दाखलाई दुई केन्द्र शासित प्रदेशको रूपमा सिर्जना गरिएको थियो । सरकारले राज्यको अवस्था सामान्य भएपछि पूर्ण राज्यको दर्जा पुनर्स्थापित गर्ने वाचा गरेको थियो ।
६- आज नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार नेप्से २७.८९ अंकले घटेर २६५४.३५ विन्दुमा पुगेर रोकिएको छ । आज ३१७ कम्पनिका ९४ लाख ८ हजार ६६३ कित्ता शेयर ४ अर्ब १२ करोड ४८ लाख २१ हजार ५६३ मा कारोबार भएको थियो । आज होटल तथा टुरिजम र म्युचुअल फन्डबाहेक सबै क्षेत्रको शेयरमा गिरावट आएको छ । आज माथिल्लो मैलुन खोला जलविद्युत र सिटी होटलको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै उन्नत सहकार्य लघुवित्तको सबैभन्दा बढी ५.३८ प्रतिशतले गिरावट आएको छ । त्यस्तै आज सबै भन्दा बढी युनियन हाइड्रोको २२ करोड १३ लाख र नेपाल रिइन्सुरेन्सको १७ करोड ३२ लाख बराबरको कारोबार भएको छ ।
७- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा मुद्दामा अरब र इस्लामिक देशका नेताहरूसँग भेटवार्ता गरेका छन् । यस बैठकमा ट्रम्पले सबै नेताहरूलाई सम्बोधन गरेका थिए । ट्रम्पले भनेका छन्- ‘यो बैठक धेरै महत्त्वपूर्ण छ । हामी गाजामा युद्ध अन्त्य गर्न चाहन्छौं । सायद हामी यसलाई अहिले नै अन्त्य गर्न सक्छौं । हामी बन्धकहरूलाई फिर्ता ल्याउन र युद्ध रोक्न सक्छौं कि सक्दैनौं भन्ने बारेमा छलफल गर्न यहाँ आएका छौं ।’ पाकिस्तानको प्रधानमन्त्री कार्यालयले पनि यस बैठकको बारेमा जानकारी साझा गरेको छ । प्रधानमन्त्री शाहबाज शरीफले अमेरिकी राष्ट्रपति ट्रम्प र कतारका अमीर शेख तमिम बिन हमद अल-थानीद्वारा आयोजित न्यूयोर्कमा अरब-इस्लामिक नेताहरूको बैठकमा भाग लिएका थिए । पाकिस्तानी विदेश मन्त्रालयका अनुसार, आठ अरब र इस्लामिक देशका नेताहरू ट्रम्पसँगको बैठकमा उपस्थित थिए ।
८- नेपाली कांग्रेसले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको छ । बुधबार जनकपुरधामस्थित नेपाली कांग्रेस मधेश प्रदेशको कार्यालयमा बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता किने निर्णय गर्दै सबै मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको संसदीय दलका नेता कृष्णा यादवले जानकारी दिएका छन् । नेपाली कांग्रेसबाट मधेश प्रदेश सरकारमा अर्थ मन्त्री सुनिल यादव, उर्जा तथा सिचाई मन्त्री शेष नारायण यादव, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री र श्रम तथा यातायात मन्त्री कौशल किशोर राय रहेका छन् ।
मुख्यमन्त्री सतिश सिंहको पार्टी जनमतले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ र मुख्यमन्त्री सिंहलाई सरकारबाट फिर्ता हुन भनेपनि उनले राजीनामा दिन मानिरहेका छैनन् । उनले जेनजी आन्दोलनका क्रममा सामाजिक सञ्जाल मार्फत राजीनामाको घोषणा गरेपनि प्रदेश प्रमुखलाई राजीनामा भने बुझाएका थिएनन् । १०७ सदस्यीय मधेश प्रदेशमा नेकपा एमालेका २५, नेपाली कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, लोसपाका ९, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७, नेपाल संघीय समाजवादी पार्टी, नाउपा र राप्रपाका एक एक सांसद रहेका छन् ।
९- राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले अन्तरिम सरकारको सिफारिश बमोजिम मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका हुन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । सरकारले अध्यादेशमार्फत निर्वाचन कानुनलाई संशोधन गरेको हो । निर्वाचन मिति तोकिसकेपछि कानुनमा नयाँ मतदाताको नाम समावेश गर्न नपाइने प्रावधान रहेकाले सरकारले जेनजी आन्दोलनको भावना अनुसार उनीहरुलाई मतदानको अवसर दिन निर्वाचन कानुनमा संशोधन गरेको हो ।
१०- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि चीनका चेन सोङबीच शिष्टाचार भेटवार्ता भएको छ । बुधबार सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई चिनियाँ राजदूत सोङले बधाई दिनुकासाथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । भेटमा नेपाल–चीनबीचको सडक तथा विद्युत् प्रसारण लाइन कनेक्टिभिटी, चिनियाँ निर्माण व्यवसायीबाट ठेक्का लिएका सडक तथा विद्युत् आयोजनाको निर्माण प्रगति, ऊर्जा क्षेत्रमा सहकार्य, चिनियाँ सहायतामा सञ्चालित आयोजनाहरुको कार्यान्वयन अवस्था, चिनियाँ लगानीलगायतका विषयमा छलफल भएको थियो ।
भेटमा मन्त्री घिसिङले नेपाल र चीनलाई सडक सञ्चालबाट जोड्ने काठमाडौं—कोदारी (अरनिको) र स्याप्रुबेंसी—रसुवागढी सडक महत्वपूर्ण र संवेदनशील रहेको तर पहिरो र कमजोर भौगोलिक अवस्थितका कारण जोखिमयुक्त रहेकाले चिनियाँ प्रविधि प्रयोग गरी सडक मर्मत गरी स्थायी रुपमा सञ्चालनका लागि आवश्यक सहयोग गरिदिन आग्रह गरे । उनले काठमाडौं उपत्यका चक्रपथ विस्तारअन्तर्गत चिनियाँ अनुदानमा निर्माण हुने कलङकी—बसुन्धरा खण्डको काम तत्काल सुरु गर्न, अरुण नदी करिडोरमा धेरै जलविद्युत आयोजनाहरु निर्माणाधीन रहेको र नेपालको विद्युत् बजारलाई थप प्रतिश्पर्धी बनाउन किमाथाङ्काबाट अर्को अन्तरदेशीय प्रसारण लाइन निर्माण अगाडि बढाउन आग्रह गरे ।
चिनियाँ कम्पनीले ठेक्का लिएका कमला—कञ्चनपुर आयोजनाको निर्माण सन्तोषजनक नरहेको,नारायणघाट—बुटवल र मुग्लिन—पोखरा सडक विस्तारको कामलाई गतिदिन आवश्यक सहयोग र सहजीकरणका लागि पहल गरिदिन आग्रह गरेका थिए । राजदूत सोङले नेपालका प्राथमिकता प्राप्त क्षेत्रमा सहयोग गर्ने चीन सँधै तयार रहेको उल्लेख गरे ।
११- हङकङमा सुपर टाइफुन रागासाका कारण दुई दिनदेखि भारी वर्षा भइरहेको छ । रोयटर्सका अनुसार यो २०२५ को सबैभन्दा खतरनाक आँधी हो । यसको प्रभाव ताइवान र चीनसम्म महसुस भइरहेको छ । ताइवानमा आँधीका कारण १४ जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन् । हङकङमा २०० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ । हङकङ अब्जर्भेटरीले आगामी केही घण्टामा आँधी घना बस्ती भएका शहरहरूको नजिक पुग्ने चेतावनी दिएको छ ।
दिउँसोसम्म समुद्रको सतह ४ मिटरसम्म पुग्न सक्ने चेतावनी दिएको छ । समुद्री पानीले हङकङको फुलर्टन होटल डुबानमा परेको छ, जसले गर्दा उल्लेखनीय क्षति भएको बताइएको छ । त्सुङ क्वान र लान्टाउ टापुमा विमानस्थल नजिकै बाढीले समुद्री तटहरू क्षतिग्रस्त बनाएको बताइएको छ । चीनको मौसम विज्ञान ब्यूरोले रागासालाई ‘टाइफुनको राजा’ भनेको छ । रागासा एक फिलिपिनो शब्द हो जसको अर्थ ‘जोशिलो’ भन्ने हुन्छ । हङकङ विमानस्थल पनि आँधीबाट प्रभावित भएको छ । सुरक्षा कारणले सयौं उडानहरू रद्द गरिएका थिए, जसले गर्दा हजारौं यात्रुहरू अलपत्र परेका थिए । शहरको मेट्रो र बस सेवाहरू पनि अवरुद्ध भएका थिए ।
धेरै क्षेत्रमा पानी जम्मा हुँदा पसल र घरहरूमा क्षति पुगेको छ। अधिकारीहरूले बासिन्दाहरूलाई घरभित्रै बस्न र आश्रय लिन सल्लाह दिएका छन् । ताइवानको अवस्था अझ भयावह भएको बताइएको छ । भारी वर्षाका कारण पहिरो र बाढी आएको छ भने राहत र उद्धार कार्य जारी छ । खराब मौसमका कारण सेना र उद्धार टोलीहरूले कठिनाइको सामना गरिरहेका छन् । धेरै क्षेत्रहरूमा बिजुली र सञ्चार सेवाहरू अवरुद्ध भएका छन्, जसले गर्दा स्थानीय बासिन्दाहरूलाई ठूलो समस्या भएको छ । १२ करोड ५० लाखभन्दा बढी मानिसहरू बसोबास गर्ने चीनको ग्वाङडोङ प्रान्तको तटमा पुग्दा यसले आफ्नो सुपर टाइफुनको तीव्रता कायम राख्ने अपेक्षा गरिएको छ ।
चीनको ग्वाङडोङ प्रान्तमा मात्र ७ लाख ७० हजार मानिसहरूलाई सुरक्षित स्थानमा लागिएको छ । ग्वाङझोउ र शेन्जेन जस्ता प्रमुख शहरहरूमा विद्यालय, यातायात र हवाई सेवाहरू बन्द गरिएका छन् भने २.८ मिटर अग्ला सम्म छालहरू आउने चेतावनी दिइएको छ ।
१२- आफ्नै श्रीमती ५७ वर्षीया लिला पुनको हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका-३ रनगैरा बस्ने ५७ वर्षीय सुकराम पुनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । सुकरामले लिलालाई कुटपिट गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गोग्लीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
१३- इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले इरानको आणविक हतियार विकास गर्ने कुनै मनसाय नभएको बताएका छन् । खामेनीले आणविक हतियार विकास गर्ने कुनै मनसाय नभएपनि ‘युरेनियम सम्बर्धन; कार्यक्रम भने नरोकिने बताएका हुन् ।
इरानी रेडियो र टेलिभिजनमा प्रसारित भाषणमा खामेनीले इरानी राष्ट्रको एकता, युरेनियम समृद्धि र अमेरिकासँगको सम्बन्धका बारेमा जोड दिएका थिए । उनले भने- ‘अमेरिकासँग वार्ताको कुनै फाइदा छैन, बरु हानिकारक छ । धम्की पाएपछि कुनै पनि देशले वार्ता गर्दैन ।’ इरानको आणविक उद्योग र समृद्धि बन्द गर्ने बारे अमेरिकाको भनाइलाई उल्लेख गर्दै खामेनीले इरानी जनताले यस्ता बयान दिने कसैलाई पनि नसहने बताए । आफ्नो भाषणको क्रममा खामेनीले इरानसँग आणविक हतियार नभएको र भविष्यमा पनि विकास नगर्ने स्पष्ट गरेका थिए ।
१४- अन्तरिम सरकारले व्यापक रुपमा खर्च कटौतीको निर्णय गरेको छ । अर्थ मन्त्रालयले सार्बजनिक संरचनाको पुनर्निमाण र मर्मत, सार्बजनिक सेवा सुचारु, निर्वाचन खर्च व्यवस्थापन, आर्थिक पुनारुत्थान र राहत समेतका लागि विकास आयोजनाको पुनप्रथामिकीकरण, अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्न भन्दै खर्च कटौतीको निर्णय गरेको हो ।
खर्च कटौतीमा विदेश भ्रमणमा कडाई देखि प्रतिनिधिमण्डलको सीमा तोकिदिएको छ । भने सवारी साधन, बैठक भत्ता र स्वकीय सचिवको सुविधा खारेज गरेको छ । सरकारले सांसद, मेयरसहित राजनीतिक पदाधिकारीहरूका स्वकीय सचिवको सुविधा खारेज गरेको छ । अर्थ मन्त्रालयले केन्द्रका मन्त्रालय, प्रदेश र स्थानीय तहलाई पत्राचार गर्दै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीबाहेक सांसद लगायत अन्य राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गर्ने निर्णय गरेको जानकारी गराएको छ ।
नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू लगायत राजनीतिक पदाधिकारीका स्वकीय सचिवालयका लागि मन्त्रालयमा कार्यकक्ष नराख्ने निर्णय गरेको छ । त्यस्तै नेपाल सरकार र प्रदेश सरकारका मन्त्री तथा प्रदेश प्रमुखको स्वकीय सचिवालयमा बढीमा तीन जना मात्र नियुक्ति गर्न सक्ने र प्रेस समन्वयका लागि अतिरिक्त नियुक्ति नगरी सम्बन्धित निकायकै प्रवक्ता तथा सूचना अधिकारीबाट कार्यसम्पादन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ । त्यसैगरी संघ, प्रदेश र स्थानीय तहका पदाधिकारी तथा कर्मचारीहरूमा सवारी साधन, मोबाइल फोन, फर्निचर, ल्यापटप, डेस्कटप कम्प्युटर, मोटरसाईकल जस्ता सामान उपयोगमा पुरानो सामान प्रयोग गर्न निर्देशन दिइएको छ ।
अत्यावश्यक अवस्थामा प्राविधिक जनशक्तिबाहेक थप दरबन्दी सिर्जना नगर्ने र नेपाल सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेकमा अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने निर्णय गरिएको छ । त्यस्तै अर्थ मन्त्रालयले अत्यावश्यक बाहेकका तालिम गोष्ठी तथा सेमिनार संचालन नगर्ने, संचालन गर्नैपर्ने भएमा सरकारी हलहरुमा र सम्भव भएसम्म अनलाइनमा संचालन गर्न निर्देशन दिएको छ । त्यसैगरी सरकारको प्रतिनिधित्व गर्न अनिवार्य भएको अन्तर्राष्ट्रिय सभा सम्मेलनमा राष्ट्र प्रमुख वा सरकार प्रमुखको नेतृत्वमा हुने प्रतिनिधीमण्डलमा बढीमा १० जना र नेपाल सरकारको स्रोतमा हुने अन्य प्रतिनिधिमण्डलमा बढीमा ३ जना मात्र सदस्य रहने सीमा तोकेको छ ।
१५- नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलाको १३ सयले बढेर तोलाको २ लाख २३ हजारमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मको उच्च मुल्य हो । यस अघि मंगलबार सुन तोलाको २ लाख २१ हजार ७ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले बढेर २७०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको २६८० मा कारोबार भएको थियो ।
१६- युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रुस-युक्रेन मुद्दामा अडानमा आएको परिवर्तनको प्रशंसा गरेका छन् । जेलेन्स्कीले ट्रम्पको मनोवृत्तिमा आएको परिवर्तनको प्रशंसा गरेका छन् । संयुक्त राष्ट्र संघमा पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले अमेरिका अब ‘युद्ध समाप्त भएपछि’ युक्रेनलाई सुरक्षा ग्यारेन्टी प्रदान गर्न इच्छुक देखिएको समेत बताएका छन् । उनले भने- ‘म झूट बोल्न चाहन्न, हामीसँग कुनै ठोस जानकारी छैन ।
यद्यपि, युक्रेनले थप हतियार, वायु रक्षा र ड्रोन प्राप्त गर्न सक्छ ।’ जेलेन्स्कीले फक्स न्यूजसँग कुरा गर्दै युक्रेनको अवस्थाको बारेमा ट्रुथसोसलमा ट्रम्पको पोस्ट देखेर छक्क परेको प्रतिक्रिया दिए, तर यसलाई ट्रम्प र अमेरिका ‘युद्धको अन्त्यसम्म युक्रेनको साथमा उभिने’ सकारात्मक संकेत भएको टिप्पणी गरे । जेलेन्स्कीले एक सामाजिक सञ्जाल पोस्टलाई संकेत गरिरहेका थिए, जसमा ट्रम्पले युरोप र नेटोको समर्थन र रूसको अर्थतन्त्रमा बढ्दो दबाबको साथ, युक्रेनले ‘आफ्नो मूल सीमाहरू पुन: प्राप्त गर्न सक्छ’ भनेर बताएका थिए ।
पोस्टमा ट्रम्पले रुसलाई ‘कागजी बाघ’ भनेर वर्णन गरेका छन् । जेलेन्स्कीले भने- ‘मलाई विश्वास छ, पुटिनले राष्ट्रपति ट्रम्पलाई धेरै पटक झूट बोलेको तथ्यले पनि फरक पारेको छ ।’ यसअघि मंगलबार, संयुक्त राष्ट्र संघमा आफ्नो भाषण पछि, ट्रम्पले नाटो देशहरूले आफ्नो हवाई क्षेत्र उल्लङ्घन गर्ने रूसी विमानहरूलाई गोली हान्नुपर्ने पनि बताएका थिए । हालै, नाटो हवाई क्षेत्रमा रूसी लडाकु विमान र ड्रोनहरू देखिएका धेरै घटना बाहिर आएका छन् ।
१७- सडक बिभागले मुलुकभरीको सडकहरुको अवस्था र सुरक्षालाई व्यवस्थित गर्न गराउन फोकल पर्सन तोकेको छ । बिभागले सर्बसाधारण सबैले टोल फ्री नम्बर ९८५१४१६८९३ मा फोन गरी आफ्ना गुनासा, सुझाब, आबश्यक जानकारी दिन हुन अनुरोध रहेको छ । साथै गुनासा, सुझाव, आवश्यक जानकारी प्राप्त भएपछि सडक बिभागको सम्बन्धित निकायमा प्रेषित गरी तत्काल सम्बोधन गर्न प्रयास गरिने विभागले जानकारी दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले यसअघि विभागलाई फोकल पर्सन तोक्न निर्दशन दिएका थिए ।
१८- शिक्षामन्त्री महावीर पुनले आफूलाई केहि दिन फोन नगर्न र म्यासेज नपठाउन आग्रह गरेका छन् । मन्त्री पुनले बुधबार बिहान सामाजिक सञ्जालमा लेख्दै आफु मन्त्रालयमा एउटा गतिलो र सिर्जनशिल टीम बनाउन व्यस्त रहेकाले केहि दिन फोन नगर्न र म्यासेज नगर्न आग्रह गरेका हुन् । उनले भनेका छन्- अस्तिदेखि मोबाईलमा, मेसेन्जरमा र ह्वाट्सअपमा हजारौं कल र मेसेज आईरहेका छन् । म मन्त्रालयमा एउटा गतिलो र सिर्जनशिल टीम बनाउन व्यस्त छु । त्यसैले केहि दिनको लागि अनावश्यक फोन नगर्न र मेसेज नपठाउनु होला । शिक्षामन्त्रीको कार्यभार सम्हाले पछि मन्त्री पुनले मंगलबार तीन निर्णय गरेका छन् ।
१- नेपाल भरका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरु कम्प्युटर शिक्षा बाट बञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनको लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नु पर्ने ।
२- केहि बिश्वविद्यालयहरुले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि १ बर्ष सम्म लगाउँदा रहेछन्। विद्यार्थीहरुको लागि त्यो अपुरणिय क्षति हो। त्यसैले बिश्वविद्यालय लाई बढीमा ३ महिना भित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिने। समयमा मै परीक्षाफल ननिकाल्ने बिश्वविद्यालयहरुको अनुदान रोक्का गरि दिने । राष्ट्रिय परीक्षा बोर्डले १२ क्लासको ५ लाख विद्यार्थीको परीक्षाफल ३ महिना भित्रै निकाल्दा रहेछन् ।
३- त्रिभुवन विश्वविद्यालय किर्तिपुरको हाता भित्र ठुलो क्षेत्रफलमा रहेको झाडी फाँडेर (ठुला रुखहरु नकाट्ने) सफा गरि सुन्दर बँगैचा सहित फुटपाथ बनाएर बिश्वविद्यालयलाई आकर्षक बनाउने ।
१९- न्युयोर्कमा राष्ट्रपति डोनाल्ड ट्रम्पको मोटरकार्डले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको कारलाई रोकेको रोचक घटना सार्बजनिक भएको छ । संयुक्त राष्ट्र संघको महासभामा भाषण दिएपछि म्याक्रोन आराम गर्न फ्रान्सेली दूतावासतर्फ जाँदै थिए । जब म्याक्रोनको मोटरकार्ड रोकियो, उनी ओर्ले र एक प्रहरी अधिकारीलाई अवस्थाको बारेमा सोधपुछ गरे ।
यसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । त्यसपछि उनले ट्रम्पलाई सडकबाटै फोन गरेर बाटो खाली गर्न भने । उनले फोनमा ट्रम्पलाई भने- ‘छिटो बाटो खाली गर्नुहोस् ।’ प्रहरी अधिकारीले म्याक्रोनलाई भने- ‘श्रीमान् राष्ट्रपति, मलाई माफ गर्नुहोस् । अहिले सबै कुरा अवरुद्ध छ ।’ प्रहरीले ट्रम्पको मोटरकार्ड त्यहाँबाट गुज्रिरहेको कारणले बाटो अवरुद्ध भएको बताए । त्यसपछि म्याक्रोनले तुरुन्तै ट्रम्पलाई फोन गरे र हाँस्दै भने- ‘तपाईंलाई कस्तो छ ? तपाईंलाई थाहा छ, म सडकमा अड्किएको छु किनभने तपाईंको लागि सबै कुरा बन्द छ । छिटो बाटो खाली गर्नुहोस् ।’ यो कुराकानी भइरहेको बेलासम्म, ट्रम्पको मोटरकार्ड गुज्रिसकेको थियो, र बाटो पैदल यात्रीहरूको लागि मात्र खुला थियो ।
यद्यपि, म्याक्रोन आफ्नो कारमा फर्किएनन् र ट्रम्पसँग कुरा गर्दै हिँडिरहे । म्याक्रोनले न्युयोर्कको सडकमा आधा घण्टा हिँडे, ट्रम्पसँग फोनमा कुरा गरे । यस क्रममा उनले बाटोमा मानिसहरूसँग फोटो पनि खिचाए । एक व्यक्तिले म्याक्रोनको निधारमा चुम्बन पनि गरे । यो शहरका बासिन्दाहरूका लागि अचम्मको घटना थियो, किनकि सामान्यतया कुनै पनि देशको राष्ट्रपतिसँगै कडा सुरक्षा हुन्छ । राष्ट्रपति म्याक्रोन संयुक्त राष्ट्र महासभाको बैठकमा भाग लिन न्यूयोर्क पुगेका थिए । उनले संयुक्त राष्ट्र महासभामा प्यालेस्टाइनलाई एक राष्ट्रको रूपमा मान्यता दिए । यस क्रममा उनले फ्रान्सले प्यालेस्टाइनलाई मान्यता दिएको घोषणा गरेका थिए ।
२०- आइसीसीले अमेरिकन क्रिकेट एसोसियसनलाई निलम्बन गरेको छ । आइसीसीले अमेरिकी क्रिकेट संघले लगातार नियमको उलंघन गरेको भन्दै विहिबार बसेको भर्चुअल बैठकले निलम्बन गर्ने निर्णय गर्दै व्यवस्थापन नियन्त्रणमा लिने निर्णय गरेको छ । यस निलम्बनले अमेरिकाको विश्वकपको सहभागिता र अन्य प्रतियोगितामा कुनै असर नगर्ने आइसीसीले जनाएको छ । आइसीसीको जुलाईमा भएको आफ्नो वार्षिक साधारण सभाले अमेरिकी संघलाई ‘स्वतन्त्र र निष्पक्ष चुनाव’ गर्न र संघमा सुधार गर्न तीन महिनाको समय दिएको दुई महिनाभन्दा बढी समय नबित्दै यो निलम्बन आएको हो ।
FACEBOOK COMMENTS