काठमाडौ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले पूर्वप्रधनमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकसहित ५ जनाको विदेश भ्रमणमा रोक लगाउन र काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था मिलाउन सिफारिस गरेको छ । समितिले जाँचबुझको सिलसिलामा अनुसन्धानको दायरामा रहेको र छानबिनको क्रममा कुनै पनि समय आयोगमा उपस्थित हुनुपर्ने हुदा आयोगको स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई सिफारिस गरेको हो । सिफारिस गरिएकाहरुमा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली, पुर्व गृहमन्त्री रमेश लेखक, पुर्व गृह सचिव गोकर्ण मणि दवाडी, पुर्व राष्टिय अनुसन्धान प्रमुख हुतराज थापा र पुर्व प्रमुख जिल्ला अधिकारी छबिलाल रिजाल रहेका छन् । साथै समितिले अनुसन्धान गर्न विज्ञहरुको आवश्यक रहेको भन्दै आवश्यक विज्ञ जनशक्तिको माग गर्ने निर्णय गरेको छ ।
२- धरान उपमहानगरका मेयर हर्क साम्पाङले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको विषय बाहिर आएको छ । असोज ७ गते ‘श्रम संस्कृति पार्टी’ नाम प्रस्ताव गरेर साम्पाङले निर्वाचन आयोगमा निवेदन दिएका छन् । सञ्चारमाध्यममा समाचार बाहिरिएपछि उनले निवेदन दिएको बताउदै आयोगले सुचना आउट गरेको बताएका छन् । उनले भनेका छन्- निर्वाचन आयोगले सुचना आउट गरिहालेछ ! पार्टीको नाम ‘श्रम संस्कृति पार्टी’ हो ! चुनाव चिन्ह ‘माटो’ हो ! भ्रम नछर्न या भ्रमित नबन्न अनुरोध !साम्पाङले जेनजी आन्दोलनअघि काठमाडौं महानगरका मेयर बालेन्द्र साहसँग मिलेर पार्टी खोल्ने बताउदै आएका थिए । तर आन्दोलनपछि हर्कले गरेको प्रधानमन्त्रीको दाबीमा बालेनले समर्थन नगरेपछि दुवै सम्बन्ध चिसो भएको छ । हर्कले बालेनले विदेशीको इशारामा सुशिला कार्कीलाई समर्थन गरेको आरोप लगाउदै आएका छन् ।
३- अर्थ मन्त्रालयले विद्युतीय भुक्तानीबाट कारोवार गर्न आग्रह गर्दै ठूलो परिमाणमा नगद राख्न आवश्यक नरहेको बताएको छ । आइतबार विज्ञप्ति जारी गर्दै विद्युतीय भुक्तानी मार्फत जुनसुकै सीमा सम्मको रकमको कारोवार गर्न सकिने भएकोले ठूलो परिमाणमा नगद सञ्चय गरेर राख्नु पर्ने आवश्यकता नरहेको उल्लेख गर्दै आफ्नो जुनसुकै कारोवार सम्भव भएसम्म विद्युतीय भुक्तानी मार्फत गर्न अनुरोध गरेको छ । मन्त्रालयले २०८२ भाद्र २३ र २४ गते जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट आगजनी हुँदा विभिन्न स्थानमा नगद समेत जलेको वा जलेको अवस्थामा भेटिएको भन्ने सूचना सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट प्राप्त भएको सन्दर्भमा यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल सरकारले सेवा वा वस्तुको खरिद विक्री वा अन्य कारोवार वित्तीय संस्था वा बैङ्किग उपकरण मार्फत गर्ने गरी विद्युतीय कारोवारलाई प्रोत्साहित गरिरहेको भन्दै विद्युतीय भुक्तानी मार्फत जुनसुकै सीमा सम्मको रकमको कारोवार गर्न सकिने भएकोले ठूलो परिमाणमा नगद सञ्चय गरेर राख्नु पर्ने आवश्यकता छैन। अतः आफ्नो जुनसुकै कारोवार सम्भव भएसम्म विद्युतीय भुक्तानी मार्फत गर्न अनुरोध गरेको छ । प्रचलित कानुन बमोजिम आय आर्जन भएको र स्रोत खुलेको रकमको जुनसुकै परिमाण आफूसँग वा अन्य स्थानमा सुरक्षित राख्न र उपयोग गर्न कुनै वाधा व्यवधान नरहेको जानकारी गराउदै विभिन्न व्यक्तिले स्रोत नखुलेको रकम आफ्नो निवास वा अन्यत्र लुकाई राखेको भन्ने सम्वन्धमा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिम अनुसन्धान भैरहेको छ । कुनै व्यक्तिले नगदमा कारोबार गर्ने सम्बन्धमा विद्यमान कानूनी व्यवस्था रहेको जानकारी दिएको छ ।
४- तमिलनाडु भेट्टी कझगम (टिभीके) का अध्यक्ष तथा अभिनेता विजयले आफ्नो र्यालीका क्रममा भएको दुर्घटनामा मृत्यु भएका र घाइते भएकाहरूका परिवारलाई आर्थिक सहयोगको घोषणा गरेका छन् । विजयले दुर्घटनामा प्रियजन गुमाएका प्रत्येक परिवारलाई जनही २० लाख सहयोग प्रदान गर्ने बताएका छन् भने उपचार गराइरहेका घाइतेहरूका लागि २ लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन् । उनले लेखेका छन्- ‘ठूलो क्षतिलाई ध्यानमा राख्दै यो रकम नगण्य छ । तैपनि, तपाईंको परिवारको सदस्यको रूपमा, यस समयमा तपाईंको साथमा उभिनु मेरो कर्तव्य हो ।’ तमिलनाडुका स्वास्थ्य सचिव पी. सेन्थिल कुमारका अनुसार, करुर भागदौडमा ३९ जनाको मृत्यु भएको छ, जसमा १७ महिला, १३ पुरुष, ४ बालबालिका र ५ बालिका रहेका छन् । साथै ९५ जना घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ । यसअघि तमिलनाडुका मुख्यमन्त्री एम.के. स्टालिनले मृतकका परिवारलाई प्रतिव्यक्ति १० लाख क्षतिपूर्तिको घोषणा गरेका थिए ।
५- इरानको विदेश मन्त्रालयले संयुक्त राज्य अमेरिका र फ्रान्स, बेलायत र जर्मनीले इरानमाथिको पुरानो संयुक्त राष्ट्र संघको प्रतिबन्ध नियमहरू पुनर्स्थापित गरिएको दाबीलाई अस्वीकार गरेको छ । इरानले इरान वा अन्य संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरू त्यस्ता प्रस्तावहरूको पालना गर्न बाध्य नभएको बताएको छ । विदेश मन्त्रालयले एक विज्ञप्तिमा इस्लामिक गणतन्त्र इरानले राष्ट्रिय अधिकार र हितहरूको दृढतापूर्वक रक्षा गर्ने र इरानी जनताको अधिकार वा हितलाई हानि पुर्याउने कुनै पनि कार्यको उचित र निर्णायक प्रतिक्रिया दिने बताएको छ । तिन देशले २०१५ को आणविक सम्झौता र सम्बन्धित प्रस्तावहरू अन्तर्गत पहिले हटाइएका छ प्रतिबन्धहरू पुनर्स्थापित भइरहेको घोषणा गरेपछि इरानको यस्तो प्रतिक्रिया आएको हो । तीन देशले यी नियमहरू सेप्टेम्बर २७, २०२५ बाट पुनर्स्थापित गरिएको जनाउदै इरानलाई यी नियमहरूको पालना गर्न आग्रह गरेका छन् ।
संयुक्त राष्ट्र संघको प्रतिबन्ध पुन: लागू गर्नाले पहिले नै संघर्ष गरिरहेको इस्लामिक गणतन्त्रको अर्थतन्त्रलाई थप बोझ पर्नेछ । यसमा सम्पत्ति फ्रिज, यात्रा प्रतिबन्ध, युरोपेली प्रतिबन्धहरूको फिर्ता र अर्को हप्ताबाट अमेरिकी प्रतिबन्धहरूको प्रभाव समावेश हुने बताइएको छ । इरानी संसदका सभामुख मोहम्मद-बाघेर गालिबोभले जोड दिए कि संयुक्त राष्ट्र सुरक्षा परिषद्का स्थायी सदस्य रूस र चीन दुवैले इरानमाथि प्रतिबन्धहरूको पुन: लागूको सार्वजनिक रूपमा निन्दा गरेका छन् र कुनै पनि देश पालना गर्न बाध्य नभएको बताएका छन् । युरोपेली संघ तीन, जसलाई इ (३) पनि भनिन्छ र यसमा फ्रान्स, जर्मनी र संयुक्त अधिराज्य समावेश छन् । यी देशहरूले युरोपेली सुरक्षा र विदेश नीतिका मामिलाहरूमा, विशेष गरी इरानको आणविक कार्यक्रम जस्ता महत्त्वपूर्ण अन्तर्राष्ट्रिय मुद्दाहरूमा सँगै काम गर्छन् ।
६- आज बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न निर्णय गरेको छ । सञ्चार तथा सुचना प्रविधिमन्त्री जगदीश खरेलले कार्तिक १० देखि १३ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने अन्तराष्ट्रिय सौर्य गठबन्धनको आठौँ बैठकमा भाग लिन उर्जामन्त्री कुलमान घिसिङलाई पठाउन स्वीकृति दिने निर्णय गरेको जानकारी दिएका छन् । त्यस्तै मन्त्रिपरिषदले जेनजी आन्दोलनमा घाइतेलाई परिचयपत्रको व्यवस्था गृहमन्त्रालयले गर्ने निर्णय गरेको छ भने आन्दोलनका घाइतेको पुन उपचारको व्यवस्था गर्न देशभर जेनजी क्लिनिक खोल्ने र एम्बुलेन्सको सहजीकरण गर्ने निर्णय गरेको छ । त्यस्तै घाइते भएकाको बर्गिकरण गर्न प्राविधिक समिति बनाउने र तत्काल कार्य गर्ने निर्णय गरेको छ । बर्गिकरणपछि घाइतेलाई उचित राहतको व्यवस्था गर्ने निर्णय भएको छ । मुग्लिनदेखि पोखरा जाने बाटोमा मर्स्याङ्दी जलविद्युतसम्म गोरखापट्टि सडक खोल्न ३० मिटर सदर गर्ने निर्णय गरेको छ । त्यसैगरी प्रधामन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकारमा गोविन्द नारायण तिमिल्सिनालाई नियुक्त गरेको मन्त्री खरेलले जानकारी दिए ।
७- नेपाल आयल निगमले दसैंका सार्वजनिक बिदामा पेट्रोलियम पदार्थको बिक्री वितरण नरोकिने जनाएको छ । निगमले आइतबार सूचना जारी गरेर उपभोक्ताको सुविधालाई ध्यानमा राख्दै सार्वजनिक बिदाको दिनहरूमा पनि पेट्रोलियम पदार्थको सहज बिक्री वितरण हुने व्यवस्था मिलाएको जनाएको हो । निगमले देशभरका १३ वटा डिपो खुला रहने जनाएको छ । साथै पेट्रोलियम पदार्थको उपलब्धतामा समस्या भएमा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।
८- भारतीय क्रिकेट कन्ट्रोल बोर्डको नयाँ अध्यक्षमा पूर्व क्रिकेटर मिथुन मन्हास निर्वाचित भएका छन् । नयाँ दिल्लीमा हालै भएको बीसीसीआईको अनौपचारिक बैठकपछि मन्हासको नाम अगाडि आएको थियो, जहाँ उनलाई यस पदका लागि अगाडि बढाउने निर्णय गरिएको थियो । गत महिना रोजर बिन्नीको कार्यकाल समाप्त भएदेखि यो पद खाली थियो । यो पदमा जम्मू कश्मीरका खेलाडी निर्वाचित भएको यो पहिलो पटक हो । ४५ वर्षीय मिथुन मन्हास भारतीय घरेलु क्रिकेटको लामो समयदेखि खेलिरहेका थिए । उनले घरेलु क्रिकेटमा दिल्ली टोलीबाट खेलेका थिए । १९९७-९८ देखि २०१६-१७ सम्मको लामो करियरमा, उनले १५७ प्रथम श्रेणी खेल, १३० सूची ए खेल र ९१ टी-२० खेल खेलेका थिए । उनको नाममा ९७१४ प्रथम श्रेणी रन रहेको छ । उनले हालै जम्मू र कश्मीर क्रिकेट संघ (जेकेसीए) को प्रशासकको रूपमा काम गरेका थिए र पहिले दुलीप ट्रफीको लागि उत्तर क्षेत्र संयोजकको रूपमा काम गरेका थिए । उनले आईपीएल टोली, गुजरात टाइटन्सको समर्थन कर्मचारीको भागको रूपमा पनि काम गरेका थिए । मनहासले रोजर बिन्नीको स्थान लिनेछन्। भारतीय क्रिकेट बोर्डको नियमले कुनै पनि पदाधिकारीको लागि अधिकतम उमेर सीमा ७० वर्ष तोकेको कारण बिन्नीले पद त्याग्नु परेको थियो । मिडिया रिपोर्टका अनुसार, पूर्व भारतीय क्रिकेटर हरभजन सिंह र रघुराम भट्ट पनि दौडमा थिए । नयाँ समितिको औपचारिक रूपमा बीसीसीआईको वार्षिक साधारण सभा (एजीएम) मा निर्णय गरिएको थियो ।
९- सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचारका लागि काठमाडौँसहित देशका १६ अस्पतालमा ‘जेनजी क्लिनिक’ सञ्चालनमा ल्याएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार ट्रमा सेन्टरमा घाइतेहरूलाई परिचयपत्र वितरण गरी क्लिनिक शुभारम्भ गरेका हुन् । आजैदेखि परिचयपत्र वितरण गर्न देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । जेनजी प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिको पहिचान एवं सहज र प्रभावकारी उपचारका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत अस्पताल तोकी क्लिनिक सञ्चालन गरिएको हो । काठमाडौं उपत्यकामा वीर अस्पताल, ट्रमा सेन्टर, सिभिल अस्पताल, पाटन अस्पताल र शिक्षण अस्पतालमा जेन-जी क्लिनिक स्थापना गरिएको छ । त्यसैगरी कोशीमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोशी अस्पताल, मधेशमा नारायणी अस्पताल र गजेन्द्रनारायण अस्पताल र बागमतीमा भरतपुर अस्पतालमा क्लिनिक स्थापना गरिएको छ ।
त्यस्तै गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीमा भेरी अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णालीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुदूरपश्चिममा डडेलधुरा अस्पताल र गेटा अस्पतालमा जेनजी क्लिनिक स्थापना गरिएको छ । मन्त्रालयले घाइते भएका व्यक्तिलाई उपचारमा सहजीकरण गर्न सम्पर्क व्यक्ति र फोन नम्बरसमेत सार्वजनिक गरेको छ । जसमा गृह मन्त्रालयकी उपसचिव सुप्रभा ढुंगेल (९८४१६०८३०५) र स्वास्थ्य मन्त्रालयका भक्त केसी (९८६८८२०२३४) लाई सम्पर्क गर्न सकिने गृह मन्त्रालयले जनाएको छ । साथै घाइतेको वर्गीकरण गर्न उपचारमा संलग्न अस्पतालको विषयविज्ञ चिकित्सकको संयोजकत्वमा कार्यदल गठन हुने मन्त्रालयले जनाएको छ । त्यस्तै फलो-अपमा जानुपर्ने घाइतेलाई आवतजावतका लागि स्वास्थ्य मन्त्रालय र सम्बन्धित अस्पतालको सहजीकरणमा नि:शुल्क एम्बुलेन्सको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
१०- आज नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । आइतबार ११.५१ अंकले बढेर २६६३. ५१ विन्दुमा पुगेर रोकिएको छ । आज ३१४ कम्पनिका ७५ लाख ११ हजार १९३ कित्ता शेयर २ अर्ब ९३ करोड ५९ लाख १४ हजार ९१० मा कारोबार भएको थियो । आज होटल, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयरमा वृद्धि भएको छ । आज ग्लोबल आइएमइ समुन्नत योजनाको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सिक्लेस हाइड्रोको शेयरमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै आज सबै भन्दा बढी युनियन हाइड्रोको २४ करोड ११ लाख र नेपाल रिइन्सुरेन्सको ११ करोड बराबरको कारोबार भएको छ ।
११- नेपाल इन्फ्रास्ट्रक्चर बैक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले हालै स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा बैकको तर्फबाट एक करोड सहयोग हस्तान्तरण गरेको छ । सहयोग रकम बराबरको चेक बैकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन् । भाद्र २३ र २४ गते मुलुकभर भएको आन्दोलनका क्रममा भौतिक संरचनाहरुमा आगजनी र तोडफोड भई ठूलो क्षति भएकोमा त्यस्ता भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले सो सहयोग गरेको बैंकले जनाएको छ ।
१२- तमिलनाडु भेट्टी कझगम (टिभीके) का अध्यक्ष तथा अभिनेता विजयले आफ्नो र्यालीका क्रममा भएको दुर्घटनामा मृत्यु भएका र घाइते भएकाहरूका परिवारलाई आर्थिक सहयोगको घोषणा गरेका छन् । विजयले दुर्घटनामा प्रियजन गुमाएका प्रत्येक परिवारलाई जनही २० लाख सहयोग प्रदान गर्ने बताएका छन् भने उपचार गराइरहेका घाइतेहरूका लागि २ लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन् । उनले लेखेका छन्- ‘ठूलो क्षतिलाई ध्यानमा राख्दै यो रकम नगण्य छ । तैपनि, तपाईंको परिवारको सदस्यको रूपमा, यस समयमा तपाईंको साथमा उभिनु मेरो कर्तव्य हो ।’ तमिलनाडुका स्वास्थ्य सचिव पी. सेन्थिल कुमारका अनुसार, करुर भागदौडमा ३९ जनाको मृत्यु भएको छ, जसमा १७ महिला, १३ पुरुष, ४ बालबालिका र ५ बालिका रहेका छन् । साथै ९५ जना घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ । यसअघि तमिलनाडुका मुख्यमन्त्री एम.के. स्टालिनले मृतकका परिवारलाई प्रतिव्यक्ति १० लाख क्षतिपूर्तिको घोषणा गरेका थिए ।
१३- अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि मित्रराष्ट्र जापानका राजदुत माएदा तोरुबीच शिष्टाचार भेटवार्ता भएको छ । उक्त अवसरमा अर्थमन्त्री खनाल र जापानी राजदुततोरुबीच नेपालको हालको परिवर्तित अवस्था, नेपाल-जापान बीचको ऐतिहासिक सम्बन्ध र जापानले नेपालको आर्थिक सामाजिक विकासमा पुर्याइरहेको सहयोगका विषयमा छलफल भएको थियो । छलफलमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थतिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु रहेको र यस अवधिमा पुनर्निर्माण लगायत आर्थिक सामाजिक विकासका कार्यहरुलाई निरन्तरता दिइने बताए । उक्त अवसरमा निर्माणाधीन नागढुंगा टनेल मार्ग परियोजना, तनहुँ जलविद्युत आयोजना लगायतका सहयोगका क्षेत्रहरु र निकट भविष्यमा सम्झौता हुन गइरहेको कोटेश्वर इन्टरसेक्सन इम्प्रुभमेन्ट प्रोजेक्ट र प्रोग्राम फर इमर्जेन्सी रिहाबिलीटेसन अफ स्न्धुली रोद समेतका विविध विषयमा कुराकानी भएको थियो । छलफलमा अर्थ सचिव घनश्याम उपाध्याय र वैदेशिक सहायता समन्वय महाशाखाका सह-सचिव धनिराम शर्माको समेत उपस्थिति रहेको थियो ।
१४- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिने बताएका छन् । विद्युतीय चार्जिङ स्टसेनमा गाडी चार्ज गर्न केही समय लाग्ने भएकाले यात्रुलाई लक्षित गरी त्यस वरपर होटल, रेष्टुरेण्ट, कफीसप खोल्न सकिने र त्यसबाट रोजगारी सिर्जन हुने मन्त्री घिसिङले उल्लेख गरे । चेन्ज डिजिटलले काठमाडौंको सामाखुसीलगायतका देशका विभिन्न ठाउँमा सञ्चालनमा ल्याएको चार्चिङ स्टेसनको आइतबार उद्घाटन गर्दै मन्त्री घिसिङले प्रदूषण नियन्त्रण र नेपाललाई हरित अर्थतन्त्रतर्फ लैजान इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीयमा रुपान्तरण आवश्यक रहेको बताए ।
चार्जिङ स्टेसन व्यवसाय गर्नका लागि लगानीको राम्रो क्षेत्र भएकाले यसबाट मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने उल्लेख गर्दै घिसिङले नेपालमा उत्पादित जलविद्युत खपतका लागि घरायसी, उद्योग, कलकारखानालगायतका सबै क्षेत्रमा उपभोग बढाएर पेट्रोलियम पदार्थको आयातलाई घटाउन सकिने बताए । यसबाट आयात घट्दा मुलुकको विदेशी मुद्रा सञ्चितिमा सकारात्मक प्रभाव परी अर्थतन्त्रमा ठूलो योगदान पुग्ने उनले थपे । सरकारले विभिन्न नीति तथा योजना मार्फत विद्युतीय सवारी साधनको प्रयोगलाई प्राथमिकतामा राख्दै आएको छ । सन् २०३० सम्ममा कूल निजी सवारी साधनको ९० प्रतिशत र सार्वजनिक सवारी साधनको ७० प्रतिशत विद्युतीय सवारी पुर्याउने लक्ष्य राखिएको छ ।
सन् २०३५ मा यो प्रतिशत बृद्धि गरी क्रमशः ९५ र ९० प्रतिशत पुर्याउने लक्ष्य छ । विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न ठाउँमा ६२ वटा चार्जिङ स्टेसन स्थापना गरेको छ । निजी क्षेत्रका करिब ८०० सयवटा चार्जिङ स्टेसन सञ्चालित छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले केन्द्रीय नवीकरणीय ऊर्जा कोष अन्तर्गत भायबिलिटी ग्याप फण्डिङ्ग सहयोगमा आधारित दिगो ऊर्जा च्यालेञ्ज फण्ड मार्फत चार्जिङ स्टेसन स्थापनाका लागि सहयोग गर्दै आएको छ । केन्द्रबाट १८ वटा कम्पनीसँग ४५ वटा आयोजना मार्फत १२४ स्थानमा चार्जिङ स्टेसन निर्माणमा सहयोग गरिएको छ ।
१५- सागर डिष्टिलरी लिमिटेडको आइपिओ बाँडफाँड भएको छ । आइतबार कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा भएको लक्की ड्र बाट एक लाख १९ हजार ६४ जनालाई १०-१० कित्ताका दरले शेयर परेको छ । भदौ ३० गतेदेखि असोज ५ गतेसम्म खुला गरिएको आइपिओमा कुल २१ लाख ९३ हजार ८२३ सदर आवेदन परेका थिए । आवेदन दिएका ३२ हजार ११ आवेदन अस्वीकृत भएका थिए । कम्पनीले जारी पुँजी ७२ करोड ६० लाखको २० प्रतिशतका दरले हुन आउने १४ लाख ५२ हजार कित्ता आइपिओ सार्वजनिक निष्कासनका लागि छुट्याएको थियो ।
जसमा १० प्रतिशत वैदेशिक रोजगारीमा रहेकाहरुका लागि, ३ प्रतिशत कम्पनिकाया कर्मचारीका लागि र ५ प्रतिशत म्युचुअल फण्डसहित लगानी कर्तालाई कम्पनिहरुलाई दिइएको थियो भने बाँकी रहेको ११ लाख ९० हजार ६४० कित्ता शेयर सर्साधारणका लागि खोलिएको थियो । सागर डिष्टिलरी लिमिटेडलाई क्रेडिट रेटिङ संस्था इन्फोमेरिक्स क्रेडिट नेपाल लिमिटेडले ‘बी प्लस’ रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको जनाउँछ । सागर डिष्टिलरी लिमिटेड देवचुली नगरपालिका १ नवलपरासीमा रजिष्टर्ड कार्यालय रहेको छ भने काठमाडौं महनगरपालिका-१ मा कर्पोरेट कार्यालय रहेको छ ।
१६- वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले भदौ २४ को घटनामा संलग्नलाई कारवाही गर्न प्रचलित कानुननै पर्याप्त भएको बताएका छन् । भदौ २४ गते सिंहदरवार, सर्वोच्च अदालत लगायत सरकारी कार्यालय तोडफोड गर्नेहरूलाई पक्राउ नगर्न गृह मन्त्रालयले दबाब दिएपछि वरिष्ठ अधिवक्ता आचार्यको यस्तो भनाई आएको हो । जेनजी आन्दोलनमा तोडफोड, लुटपाट र आगजनी गर्नेहरूको फोटो, भिडियो संकलन गर्दै प्रहरीले कारबाहीमा ल्याउन थालेपछि पक्राउ नगर्न गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई दबाब दिएको बुझिएको छ ।
गृहमन्त्रालयले समेत असोज ९ मा नै भदौ २३ र २४ का घटना बारे जाँचबुझ आयोगको प्रतिवेदनपछि कारवाही गरिने भन्दै सरकारको नियमित संयन्त्रबाट कारवाही नगरिने उल्लेख गरेको छ । यसैप्रसंगमा वरिष्ठ अभिवक्ता आचार्यले गृहमन्त्रालयको पत्रले घटना ढाकछोप गर्न खोजेको देखियो भन्दै २३ गतेको घटनामा आयोगको प्रतिवेदन केही काम लाग्ला तर २४ को मा त प्रचलित कानून नै प्रयाप्त रेहको बताएका छन् । उनले भनेका छन्- आयोग गठनको कारण देखाइ अपराधमा संलग्न व्यक्ति उपर कुनै कारबाही नै अघि नबढाउनु भन्नु उचित होइन । यसले त घटनालाई ढाकछोप गर्न खोजे जस्तो देखियो । २३ गतेको घटनामा आयोगको प्रतिवेदन केही काम लाग्ला तर २४ को मा त प्रचलित कानून नै प्रयाप्त छ ।
१७- पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको शुभकामना सन्देश जारी गर्दै राष्ट्रिय एकता, सुधार र युवा पुस्ताको भूमिकालाई जोड दिएका छन् । पुर्व राजा ज्ञानेन्द्रले पहिलो पटक सार्बजनिक विज्ञप्तिमा ‘पुर्व राजा’ उल्लेख गरेका छन् । यसअघि ‘श्री ५ महाराजाधिराज’ उल्लेख गर्ने गरिएकोमा यस पटक विज्ञप्तिमा पुर्व राजा श्री ५ महाराजाधिराज’ उल्लेख गरिएको छ । साथै पुर्व राजा ज्ञानेन्द्रले राष्ट्र चरम विध्वंश र शोकमा रहेको उल्लेख गर्दै विगतमा जस्तो टीका–जमरा प्रदान नहुने र पारिवारिक रूपमा पर्व मनाउने जानकारी दिएका छन् ।
१८- नेपाली बजारमा आज सुनचाँदीको मुल्य फेरी बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको ७ सयले बढेर तोलाको २ लाख २३ हजार २ सयमा कारोबार भइरहेको छ । यस अघि शुक्रबार सुन तोलाको २ लाख २२ हजार ५ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ७० रुपैयाँले बढेर २८१० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको २७४० मा कारोबार भएको थियो ।
१९- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा विवाद रोकिने संकेत लिएको छैन । सुमना श्रेष्ठले पार्टी छोडेपछि अब निशानामा डा. तोसिमा कार्कीलाई बनाइएको छ । तोसिमाले आफुलाई निशाना बनाइएको विषय सामाजिक सञ्जालमा लेखेकी छन् । उनले आफुलाई पार्टी छोड भनेर मिडिया ट्रायल गरिएको भन्दै आफुले पार्टी नछोड्ने बताएकी छन् । उनले कहिले राजीनामा दिन लाग्यो भनेर अफवाह फैलाउने, कहिले पार्टी बनाउने उद्देश्यका साथ पेश गरिएको पत्रको ४ बुँदा राम्रोसँग अध्ययन समेत नगरी पार्टी सभापतिको विकल्प खोज्यो भनेर विषय अतिरन्जित गर्ने, विकल्प खोज्नेलाई छाड्नहुन्न, पार्टीबाट निकाल्नुपर्छ आदि भनेर मिडिया ट्रायल गरेर पार्टी पङ्तिमा भ्रम छर्न खोजिएको बताएकी छन् । उनले हिम्मत भए संस्थापनले खुल्ला विशेष अधिवेशन गरोस् भन्ने चुनौती दिदै पार्टी सभापतिको आशिर्वाद लिएर लाखौं कार्यकर्ता तथा सुभेच्छुकको मत लिएर दिईएको जिम्मेवारी सम्हाल्ने आँट आफुसँग रहेको बताएकी छन् ।
२०- रास्वपा छोडेकी सुमना श्रेष्ठले आफूविरुद्ध अनर्गल र झुठो प्रचार फैलाइएको भन्दै रास्वपाका नेताहरुलाई प्रतिप्रश्न गरेकी छन् । सुमनाले आफूविरुद्ध भएका प्रहारको जवाफ दिदै रास्वपाका नेताहरुलाई तीन ठूला दलहरुका टाउकेहरुलाई चोर औँला देखाँउदै व्यक्तिवाद हावी भयो भन्दै गर्दा बाँकी चारवटा औँला आफै तिर फर्किएको बताएकी छन् । साथै उनले क्षणिक लोकप्रियता र केहि थान गालीबाट बच्न एक शब्द चुईक्क नबोल्नु र दास मानसिकता बोकेर लम्पसार पर्नु हुतिहारा हुनु हो भन्दै त्यस्तो प्रवृतिविरुद्ध विद्रोह गर्नु हुतिहारा हुनु भएको बताएकी छन् ।
उनले भनेकी छन्- पार्टि भित्रै रहनु भएका र मलाई बिश्वास गर्नुहुने साथीहरुलाई म प्रति फैलाईएको अनर्गल र झुठा प्रचारको विरुद्ध सचेत गराउन केहि कुरा भन्न चाहेँ ।
१- अवसरवादको परिभाषा अर्कै हुन्छ भने फरक पर्ला तर व्यक्तिगत स्वार्थ र लाभको निम्ति आफ्नो नैतिक धरातल र राजनैतिक मूल्य मान्यताबाट च्यूत हुनु नै अवसरवाद हो भने, तीन ठूला दलहरुका टाउकेहरुलाई चोर औँला देखाँउदै व्यक्तिवाद हावी भयो भन्दै गर्दा बाँकी चारवटा औँला आफै तिर फर्किन्छ कि फर्किँदैन? त्यहि प्रवृतिलाई मलजल दिएर नयाँ केपि, नयाँ शेर बहादुर, नयाँ प्रचण्ड बनाउन उद्दत हुनु र त्यसैमा आफ्नो फाईदा देख्नु अवसरवाद हो कि होइन? त्यस प्रति असहमति जनाउनु अवसरवाद हो कि अवसरवादको विपरीत? क्षणिक लोकप्रियता र केहि थान गाली बाट बच्न एक शब्द चुँईक्क नबोल्नु र दास मानसिकता बोकेर लम्पसार पर्नु हुतिहारा हुनु हो कि त्यस्तो प्रवृति विरुद्ध विद्रोह गर्नु हुतिहारा हुनु हो? म साथीहरुलाई प्रश्न गर्न चाहन्छु ।
२- पार्टीको आधिकारिक धारण जस्तो गरि गल्ती भयो भनेर स्वीकार गर्ने तर कुनै कारवाहि नगर्ने तथा आचरण र प्रवृतिमा कुनै सुधार नगर्ने हो भने कुन मुखले पुरातनवादि दलहरुको विरोध गर्ने? नयाँ मालिक को नयाँ दास बन्ने हो भने पुराना झोले र पुराना दासहरुलाई कस्तो नैतिक धरातलमा बसेर प्रतिप्रश्न गर्ने? सामान्य नेपाली नागरिकहरु अगाडि उभिएर हामी फरक छौँ भन्न लज्जाबोध हुँदैन? एक चोटि आफ्नो आत्मालाई एक्लै बसेर सोध्नुस् ।
३- प्रधान सेनापतिले ‘रास्वपा’ र ‘दुर्गा प्रसाँई’ पनि स्टेकहोल्डर हो भन्दा मैले प्रतिवाद गरेकै हो। आन्दोलन शुरु हुनु अगाडि आन्दोलनरत युवा पुस्ताले कुनै राजनितिक पार्टिको झण्डा वा एजेन्डा बोकेर नआउनु भनि स्पष्टताका साथ भनिसकेको अवस्थामा जेनजी आन्दोलनमा हाम्रो सहभागिता देश प्रति निष्ठावान नागरिकको भन्दा बढि थिएन र हुनु हुँदैन थियो। सहादत प्राप्त गर्नुभएको ७४ नेपाली विर विरांगना, सयौँ घाईते र लाखौँ नागरिकको सहभागिताको अवमूल्यन हुने गरि त्यतिबेला जंगी अड्डा धाउनु ‘दुर्गा प्रसाँई’ सँगै ऊभिनु हो र वास्तविक अवसरवादिता सदर गर्नु हो। हाम्रो पनि एजेन्डा हो, हामी पनि स्टेक होल्डर हो, हाम्रो पनि माग यिनै हुन भनि धमिलो पानीमा माछा मार्न खोज्ने पृष्ठभूमि बनाउँदै गर्दा ती उजाडिएका काखहरु र सिन्दुर रित्तिएका सिउँदोहरू सम्झिनु होला। यस्तो विषम परिस्थितिमा आफुले नगरेको संघर्ष र आफुले नदिएको नेतृत्व ‘गरेँ’ वा ‘दिएँ’ भन्नु कुन हदसम्मको जनता विरुद्ध गद्दारी र अवसरवाद हो भन्ने प्रश्न अस्वाभाविक हो र ? हामीलाई सुमनाले लाइभ आएर जंगीअड्डा जानबाट रोकि भनि मेरो विरुद्ध प्रचार गर्न सक्ने गरी ईमान कुन ठाँउमा मिल्काएर आउनु भो? नख्खुमा ईज्जत सँगै मानवता पनि जलाउनु भएको हो र ?
४- भ्रम र झुठको बादल हटेको दिन सत्य र न्यायको कसीमा ‘अवसरवाद’ र ‘कायरता’ को पनि परिक्षण हुने नै छ। लोकप्रियताको बुँई चढेर मेरो मालिक फर्किन्छ र मलाई बक्सिस दिन्छ भन्ने पर्खाईमा आफ्नो स्वाभिमान बन्दगी राखेका केहि साथीहरु देख्नुपर्दा लालच र निरिहता उर्बराउने डर पलाएको छ। याद राख्नुस् – लालच झाँगिदा ‘अवसरवाद’ मौलाउने हो । निरिहताले जरा गाड्दा ‘हुतिहारापन’ फस्टाउने हो । वैकल्पिक राजनितिमा आउनेहरुलाई सोध्न चाहन्छु – तपाईहरु राजनितिमा आफ्नो अलग पहिचान, देश बनाउने हुटहुटी र आफ्नो विशिष्टता राष्ट्र र सम्पूर्ण नेपालीहरु प्रति समर्पित गर्न आउनु भएको कि वैकल्पिक शेर बहादुरको लागि वैकल्पिक प्रकाश शरण वा वैकल्पिक के पि को लागि वैकल्पिक महेश बस्नेत बन्न आउनु भएको हो? यतिनै यक्ष प्रश्न सोध्दै र ईमानदार उत्तरको अपेक्षा गर्दै देश प्रति निष्ठावान र प्रतिबद्ध रहने वाचा गर्दछु ।
FACEBOOK COMMENTS