काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले असोज १७ र १८ गते आएको अविरल वर्षाले गर्दा भएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ ।
मन्त्रालयका अनुसार विभिन्न क्षेत्रमा नदी कटान, डुबान तथा बाढीले नदी नियन्त्रण तर्फ करिब १५०० मिटर तटबन्ध कटान भई १० करोड रूपैयाँ बराबरको क्षति पुर्याएको आकलन अनुमान गरिएको छ ।
कन्काई नदीले गौरीगञ्ज–२ झापामा हुलाकी राजमार्गको तल्लो तटीय दायाँ किनारमा करिब २०० मिटर तटबन्ध कटान गरेको छ ।
जसकारण होकलबारी गाउँको करिब ११४ घर बारी डुबान भएको र ५०० हेक्टर धान खेतमा क्षति भएको छ। झापा गाउँपालिका–२ को कुवाडीमा अनुमानित २०० मिटर
तटबन्ध कटान गरी करिब २५ हेक्टरमा क्षति भएको उल्लेख छ। यसको अनुमानित क्षतिको लागत ७५ लाख रूपैयाँ गरिएको छ । मेची नदीले ठाउँ ठाउँमा रहेको स्परहरूमा क्षति पुर्याएको कारण ५० लाख रूपैयाँ बराबरको क्षति अनुमान गरिएको छ ।
केशलिया नदीमा (बुढी खोला) आएको बाढीले विराटनगर महानगरपालिका वडा–६ र १२ को बस्ती डुबान भई ७५ घर धुरी स्थानान्तरण गरिएको छ।कमला नदीको पूर्वी किनार सिरहा १७ पटेरुवाको तटबन्धमा क्षति पुर्याउँदा अनुमानित २५ लाख रूपैयाँको क्षति लागत राखिएको छ ।
लालबकैया नदीको दायाँ किनार मौलापुर नगरपालिका वडा १ मर्यादपुरमा करिब ६० मीटर तटबन्ध बगाई करिब १०० हेक्टर धान खेत र बौदीमाई गाउँमा करिब १२० मीटर तटबन्ध बगाई २०० हेक्टर धान खेतमा क्षति भएको उल्लेख छ।
त्यस्तै २०० वटा घर गोठ डुबान भएका छन्। यहाँ अनुमानित क्षतिको लागत ६० लाख रूपैयाँको गरिएको छ । महोत्तरीको रातो नदीले बलवा नगरपालिका वडा–२, १० र ११ को बन्चौरी, लेउरी, भल्नी तथा भगवतीपुर गरी ३९० मीटर तटबन्ध बगाएको छ ।
त्यस्तै लोहारपट्टी नगरपालिका वडा–६ लोहारपट्टीमा ४०० मीटर, महोत्तरी गाउँपालिका वडा ६ रतबारा मा २० मिटर, जलेश्वर नगरपालिका–१, ४ र ७ को बखरी र खैरामा गरी ८० मिटर तटबन्ध बगाई क्षति भएको मन्त्रालयले उल्लेख गरेको छ ।
रातो नदीले जम्मा ८९० मिटर तटबन्ध कटान भएको र साथै सदरमुकाम जलेश्वर समेत बाढीको जोखिममा रहेको उल्लेख छ। अनुमानित क्षतिको लागत ८ करोड रूपैयाँ गरिएको छ ।
सिंचाईतर्फ उल्लेख्य क्षति नभएको बताइएको छ। झाँज सिँचाइ प्रणालीको ब्यारेज भन्दा २०० मिटर माथिल्लो तटीय क्षेत्रमा मोहम्मदपुर गाउँ डुबान भएको उल्लेख छ।
सुनसरी मोरङ, बागमती र नारायणी सिँचाइ आयोजनाहरुको सिंचित क्षेत्र भित्र रहेका खोला खोल्साहरुले खेतीयोग्य जमिनमा कटान गरेको प्रारम्भिक आँकलन छ ।
सुनकोशी नदीमा आएको बाढीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देशीय आयोजना अन्तर्गतको निर्माणाधीन बाँध स्थल डुबान भएको छ। कफर ड्याम लगायत निर्माणाधीन संरचनाहरुको अवस्था एकिन हुन नसकेको बताइएको छ ।
पहिरो तर्फ , इलाम, पाँचथर, ताप्लेजुङ लगायत कोशी र बागमती प्रदेशका पहाडी जिल्लाहरुमा पहिरोका घटनाहरु भएका छन्। यसको विवरण यकिन नभएको मन्त्रालयले जनाएको छ ।
FACEBOOK COMMENTS