काठमाडौं । पछिल्लो समय विश्वका विभिन्न देशहरूमा ‘जेन जी’ पुस्ताले सरकारविरोधी आन्दोलन चर्काएको छ ।
सन् १९९७ देखि २०१२ बीच जन्मिएको जेन जी पुस्ता सरकारविरुद्धको सडक सङ्घर्षको मुख्य शक्ति बन्दै गएको छ । यो पुस्ताका युवाहरू अहिले शासकीय अव्यवस्थाविरुद्ध विद्रोह गर्दै परिवर्तनको माग लिएर आन्दोलनहरूमा अग्रसर छन् ।
जेन जीले गरेको आन्दोलनका कारण पछिल्लो दुई महिनाभित्र नेपालसहित दुई देशमा सत्तापलट भएको छ । जेन जी आन्दोलनका कारण असुरक्षाको महसुस गर्दै राष्ट्रप्रमुखले देश नै छाडेर भाग्नुपरेको नयाँ घटनासमेत विश्व इतिहासमा दर्ज भएको छ । जेन जी आन्दोलन उत्कर्षमा पुगेपछि अफ्रिकी मुलुक माडागास्करका राष्ट्रपति एन्ड्री राजोएलिना देश छाडेर भागेका हुन् ।
जेन जी पुस्ताले सेप्टेम्बर २५ देखि सुरू गरेको देशव्यापी आन्दोलन चर्किँदै गएपछि उनी देश छाडेर भागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । केही मिडिया रिपोर्टहरूमा देश छाडेर भागेका राष्ट्रपति राजोएलिना फ्रान्स गएको दाबी गरिए पनि यसको आधिकारिक पुष्टि भने भएको छैन ।
माडागास्करमा भएको जेन जी प्रदर्शन सुरूआतमा पानी र बिजुली कटौतीको विरोधमा थियो । त्यसपछि भ्रष्टाचार र कमजोर शासनका विरुद्ध आन्दोलन चर्किएको हो । जेन जीको आन्दोलनमा सेनाको विशेष इकाइले पनि साथ दिएपछि राष्ट्रपति राजोएलिनाले देशै छाड्नुपर्ने अवस्था आएको हो । राष्ट्रपतिले देश छाडे पनि माडागास्करमा जेन जी आन्दोलन अझै जारी छ । संयुक्त राष्ट्रसङ्घका अनुसार उक्त आन्दोलनमा हालसम्म २२ जनाले ज्यान गुमाइसकेका छन् ।
माडागास्करमा भएको आन्दोलन हालै नेपाल र मोरक्कोमा भएका जेन जी आन्दोलनसँग पनि मिल्दोजुल्दो छ । जेन जी आन्दोलनकै कारण कुनै देशको सरकार ढलेको यो दोस्रो घटना हो ।
यसअघि गत सेप्टेम्बर ८ र ९ तारिखमा काठमाडौंमा भएको जेन जी आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकार ढलेको थियो, जसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ ।
पछिल्लो समय सरकारविरोधी आन्दोलन विश्वव्यापीजस्तै बन्न थालेको छ । युरोपदेखि एसिया र अफ्रिकासम्म फैलिएका सरकारविरोधी प्रदर्शनहरूमा मुख्यतः जेन जी पुस्ताले अगुवाइ गरिरहेको देखिन्छ । यो पुस्ताले राजनीतिक उत्तरदायित्व, पारदर्शिता र समान अवसरको माग उठाइरहेको छ ।
फ्रान्समा प्रस्तावित बजेट कटौतीविरुद्ध नागरिकहरूले राष्ट्रपति इम्यानुएल म्याक्रोंको राजीनामा माग्दै आन्दोलन जारी राखेका छन् । त्यस्तै, मोरक्को पनि जेन जी विद्रोहले अशान्त छ भने ल्याटिन अमेरिकी देश पेरूमा आर्थिक असमानता र सरकारी अकर्मण्यताविरुद्ध युवाहरू सडकमा छन् ।
नेपालको छिमेकी देश भारतको लद्दाख क्षेत्रका जेन जी युवाहरू केन्द्र सरकारको उपेक्षाविरुद्ध आन्दोलनरत छन् । विश्लेषकहरूका अनुसार, त्यहाँको परिस्थितिले भारतको सङ्घीय संरचनामाथि नै प्रश्न उठाएको छ र केहीले यसलाई भारत टुक्रिने सम्भावनासँग पनि जोडेर व्याख्या गरिरहेका छन् ।
यसअघि नेपालको निकट छिमेकी मुलुकको रूपमा रहेका बङ्गलादेश र श्रीलङ्कामा पनि सत्तापलट हुनेगरी सरकारविरोधी आन्दोलन भइसकेको छ ।
हेर्नुहोस् भिडिओ–
FACEBOOK COMMENTS