काठमाडौं । माडागास्करमा केही हप्तादेखि जारी जेन जीको व्यापक विरोध प्रदर्शनले देशमा सत्तापलट भएको छ ।
जेनजी युवाको नेतृत्वमा भएको विरोध प्रदर्शनपछि राष्ट्रपति एन्ड्री राजोइलिना देश छोडेर भाग्न बाध्य भए । यसपछि कर्नेल माइकल रान्ड्रियानीरिनाले आफैँलाई देशको कार्यवाहक राष्ट्रपति घोषित गरेका छन् ।
कर्नेल माइकल रान्ड्रियानीरिना मेडागास्करको सीएपीएसएटी नामक विशिष्ट सैन्य एकाइका वरिष्ठ अधिकारी हुन् ।
उनले एक अन्तर्वार्तामा आफूले चाँडै नै औपचारिक रूपमा शपथ लिने बताए । यो घटनाक्रम राष्ट्रपति राजोइलिना देश छोडेर भागेपछि भएको हो ।
सेनाको एक गुटले उनलाई सत्ताबाट हटाएको थियो । रान्ड्रियानीरिनाले मंगलबार सेनाले देशको बागडोर सम्हालेको घोषणा गरे ।
विगत केही हप्तादेखि सरकारविरुद्ध, विशेष गरी युवाको नेतृत्वमा विरोध प्रदर्शन भइरहेका थिए ।
शनिबार स्थिति तब बदलियो जब रान्ड्रियानीरिना र उनको विशेष सैन्य एकाइ सीएपीएसएटीले विद्रोह गरे र प्रदर्शनकारीहरूसँग मिलेर राष्ट्रपतिलाई राजीनामा दिन माग गरे ।
रान्ड्रियानीरिनाले सोमबार देशमा राष्ट्रपति, प्रधानमन्त्री र संसद्को कुनै सक्रियता नभएको भन्दै आफूले जिम्मेवारी लिएको बताएका थिए ।
यद्यपि, माडागास्करको संवैधानिक अदालतले पनि रान्ड्रियानीरिनालाई अन्तरिम रूपमा राष्ट्रपति पद सम्हाल्न निम्तो दिएको छ ।
उनले देशमा रहेको संकटलाई छिटो अन्त्य गर्न तत्काल नयाँ सरकार गठन गरिने र नयाँ प्रधानमन्त्री नियुक्त गरिने बताए ।
सन् २०१८ देखि सत्तामा रहेका पूर्वराष्ट्रपति राजोइलिनाले यस कदमलाई गैरकानुनी सैन्य हस्तक्षेप भएको बताएका छन् । उनले आफ्नो ज्यान जोगाउन देश छोडेको दाबी पनि गरेका छन् ।
माडागास्करमा सन् १९६० मा फ्रान्सबाट स्वतन्त्रता प्राप्त गरेपछि धेरै पटक सत्तापलट भइसकेका छन् । स्वयं राजोइलिना पनि सन् २००९ मा सेनाको समर्थनमा सत्तामा आएका थिए ।
FACEBOOK COMMENTS