काठमाडौं । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा अमेरिकाको वासिङटन डिसिमा रहेका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले एशियाली विकास बैकका अध्यक्ष मासातो कान्दासँग भेटवार्ता गरेका छन् ।
उक्त भेटमा अर्थमन्त्री खनालले एशियाली विकास बैंकले खासगरी पूर्वाधार विकासका क्षेत्रमा नेपाललाई लामो समयदेखि गर्दै आएको योगदानको चर्चा गरेका थिए ।
मन्त्री खनालले वर्तमान सरकार निजी क्षेत्रको विकासका लागि लगानीयोग्य वातावरण बनाउन दृढ रहेको बताए । साथै एसियाली विकास बैंकको लगानीमा हाल निर्माण भएका ठूला पूर्वाधार आयोजना बारे बताउँदै अध्यक्ष कान्दालाई नेपाल भ्रमणको लागि निमन्त्रणा गरे ।
अध्यक्ष कान्दाले नेपालमा भएको राजनीतिक परिवर्तन र सुशासन कायम गर्ने विषयमा जिज्ञाशा राखेका थिए । साथै उनले नेपाल भ्रमणको निमन्त्रणा दिएकोमा धन्यवाद दिदै उपयुक्त समयमा नेपाल भ्रमण गर्न आफु इच्छुक भएको बताए ।
अर्थमन्त्री खनालले आजै विश्व बैक र अन्तर्राष्ट्रिय मुद्रा कोषको दक्षिण पूर्वि एशियाली समुहको गभर्नरहरुको बैठकमा बोल्नुहुँदै नेपालमा जलविद्युत उत्पादन र सूचना प्रविधि पूर्वाधार विकासमा लगानी गर्न आग्रह गरेका थिए ।
विकास आयोजनाको कार्यान्वयनमा ढिलाई भएको चर्चा गर्दै मन्त्री खनालले विश्व बैंकलाई आयोजना कार्यान्वयनका मापदण्ड र निर्देशिकालाई थप सरल बनाउन सुझाव दिए । मन्त्री खनालले वित्तीय क्षेत्रको स्थायित्वका लागि तयार गरिने
विश्वव्यापी मापदण्ड बनाउन आवश्यक भएपनि कार्यान्वयनका क्रममा कुनै देश विशेषको स्थानीय आवश्यकता र परिवेशलाई पनि उत्तिकै ध्यान दिन अन्तर्राष्ट्रिय मुद्रा कोषलाई आग्रह गरे । सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको समेत उपस्थिति थियो ।
FACEBOOK COMMENTS