काठमाडौँ । पाकिस्तान र अफगानिस्तानबीच तत्कालदेखि लागु हुने गरि युद्धविराम गर्ने सहमति भएको बताएको छ। दोहामा भएको वार्तामा यस्तो सहमति भएको कतारले जानकारी दिएको छ ।
कतारको विदेश मन्त्रालयले उसको र टर्कीको मध्यस्थतामा भएको वार्तामा दुई देशले सीमा क्षेत्रमा दिगो शान्ति र स्थिरता सुनिश्चित गर्न संयन्त्र स्थापना गर्न पनि सहमति जनाएको बताएको छ । अर्को चरणमा, युद्धविरामको अनुगमन र प्रभावकारी कार्यान्वयनको बारेमा छलफल गर्न दुवै पक्षका समितिहरू दोहा र इस्लामाबादमा भेट्नेछन् ।
कतारको विदेश मन्त्रालयले यो सम्झौताले पाकिस्तान-अफगानिस्तान सीमामा बढ्दो तनाव कम गर्ने र क्षेत्रीय स्थिरतातर्फ निर्णायक पहिलो कदम साबित हुने बताएको छ ।
पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले सम्झौताको पुष्टि गरेका छन् र युद्धविरामले दुई देशहरू बीचको जारी सीमा तनाव अन्त्य गर्ने आशा व्यक्त गरेको जियो न्यूजले उल्लेख गरेको छ । ख्वाजा आसिफले थप वार्ताका लागि अक्टोबर २५ मा इस्तानबुलमा दुवै पक्षका प्रतिनिधिमण्डलहरू फेरि भेट्ने समेत बताएका छन् ।
यसअघि, पाकिस्तान र अफगानिस्तान बीचको द्वन्द्वमा तीन युवा क्रिकेटरहरू सहित धेरै नागरिकहरू मारिएका थिए । अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानले युद्धविराम उल्लङ्घन गरेको र आक्रमणमा सर्वसाधारण मारिएको दाबी गरेको छ । पाकिस्तानले सुरक्षा बलले अफगानिस्तानको सीमामा रहेको उत्तर र दक्षिण वजिरिस्तान जिल्लाहरूको सीमावर्ती क्षेत्रहरूमा ‘आतंकवादी शिविरहरू’ लाई लक्षित गरेको बताएको छ
FACEBOOK COMMENTS