काठमाडौं । गत भदौ २३ र २४ गते देशव्यापी रूपमा भएको ‘जेन जी’ आन्दोलनपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको तत्कालीन सरकार सत्ताबाट बहिर्गमित भयो । ओलीको उक्त बहिर्गमन उनको राजनीतिक इतिहासकै ‘बेइज्जतीपूर्ण’ थियो । नेपाली कांग्रेससँगको साझेदारीमा झण्डै दुई तिहाइ बहुमतको प्रधानमन्त्री बनेका ओली जेन जी आन्दोलन सुरू भएको दोस्रो दिन नै सत्ताच्युत मात्र भएनन्, नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेर ज्यान जोगाइदिनुपर्ने अवस्थासम्म पुगे । उनी आफैले भदौ २४ गते ‘उद्धारमा पाँच मिनेट मात्रै ढिलाइ भएको भए म मारिने थिएँ’ भनेर सार्वजनिक रूपमै बोलिसकेका छन् ।
तर, यति भइसक्दासम्म पनि उक्त परिस्थिति बन्नुमा आफ्नो पनि दोष छ भन्ने ओलीलाई रत्तिभर महसुस छैन । अनेकन् गल्ती–कमजोरीका बावजुद उनी आफूलाई ‘दूधले नुहाएको’ प्रमाणित गर्ने प्रयासमै जाेडबल गरिरहेका छन् । जेन जी आन्दोलनका शहीद र घाइतेहरूप्रति उनले हालसम्म सहानुभूतिको ‘स’समेत उच्चारण गरेका छैनन् ।
बरु आन्दोलनको वास्तविक सत्य स्वीकार नगरेर ओलीले पटक–पकट ‘कन्स्पिरेसी थ्योरी’को भाषा प्रयोग गरिरहेका छन् । उनको विचारमा जेन जी आन्दोलनको आवरणमा ‘देशी–विदेशी शक्ति’ले उनी नेतृत्वको तत्कालीन सरकारविरुद्ध षड्यन्त्र गरेका हुन् । जेन जी आन्दोलनमा विदेशी शक्तिको घुसपैठ भएको हुन सक्ने सम्भावनालाई नकार्न सकिँदैन । तर, आन्दोलन नै विदेशी शक्तिको षड्यन्त्रअनुसार भएको हो भन्ने आरोप भने ‘कन्स्पिरेसी थ्योरी’ मात्र हो ।
भ्रष्टाचार र कुशासनले थिलथिलो बनेको देशमा मडारिएको निराशाको कालो बादल ओलीका आँखाले देख्दै देखेनन् । ‘शासकीय नालायकी’विरुद्ध बढ्दो नागरिक आक्रोशलाई सामान्य ठान्दै अन्तिम क्षणसम्म सत्तामा टिकिरहने प्रयास उनले गरे । प्रहरीको गोली लागेर दुई दर्जन निर्दोष युवाहरूको ज्यान जाँदासम्म ओलीले पदीय नैतिकता प्रदर्शन गर्न सकेनन् । सेनाले ‘परिस्थिति नियन्त्रबाहिर गएको’ जानकारी गराएपछि मात्र ओलीले मन अमिलो बनाउँदै राजीनामा दिए ।
जेन जी युवाले ओलीसहित स्थापित भनिएका पुराना दलका नेताहरूलाई सच्चिनै पर्ने स्पष्ट सन्देश दिएका छन् । तर, आफ्नै ‘अधिनायकवादी’ चरित्रका कारण सत्ताच्युत भएका ओलीमा दम्भको नामोनिशान घटेको छैन, बरु झन्–झन् बढेर गएको छ । ओलीको स्पष्ट हुङ्कार छ— बरु म उध्रिन्छु तर सुध्रिने त कुरै नगर्नू ! बिग्रेको भए पो सुध्रिनु !
जेन जी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन तोकेको छ । देशमा जसरी पनि निर्धारित मितिमै उक्त चुनाव हुनुपर्नेमा अधिकांशको जोड रहँदै आएको छ । तत्कालीन सत्तारूढ दल कांग्रेस र प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहित धेरैजसो दल चुनावमा सहभागी हुने पक्षमा देखिएका छन् ।
तर, ओली नेतृत्वको एमाले भने हरसम्भव विघटित संसद् पुनर्स्थापना गराएर हालको सरकार ढाल्ने र चुनाव हुन नदिने पक्षमा छ । हालको अन्तरिम सरकार असंवैधानिक रहेको र यसले चुनाव गराउन नसक्ने ओलीको दाबी छ । दलकै कतिपय नेताहरूले संसद् पुनर्स्थापनाको प्रयासमा लाग्नुको सट्टा ताजा जनादेशका लागि चुनावमा जान उपयुक्त हुने आवाज उठाउँदा पनि अध्यक्ष ओली त्यसलाई सुनेको नसुन्यै छन् । जेन जी आन्दोलनपछि पहिलोपटक बसेको एमालेको केन्द्रीय कमिटी बैठकमा डेढ सय जना केन्द्रीय सदस्यले निर्वाचनमा भाग लिनुपर्ने धारणा राखेका थिए । तर, उक्त बैठकले ‘बहुमत’को हवाला दिँदै चुनावमा भाग नलिने निर्णय गरिसकेको छ ।
चुनावसम्म हालको अन्तरिम सरकार सत्तामा रहिरहे जेन जी आन्दोलनका क्रममा भएका क्षतिको नैतिक जिम्मेवारीका लागि कारबाही भोग्नुपर्ने डरले ओलीले यस्तो प्रयास गरेको हुन सक्ने ‘नागरिक आशङ्का’लाई उनकै गतिविधिहरूले बल पुर्याइरहेका छन् । जेन जी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग अमान्य हुने ओलीले बताएका छन् । आफूलाई पक्राउ गरेर कारबाही गर्नकै लागि उक्त आयोग बनाइएको आरोप उनको छ । सोमबार सम्पादकहरूसँगकाे कुराकानीमा पनि उक्त आरोप दोहोर्याउँदै ओलीले आयोगलाई आफूले बयान नै नदिने बताएका छन् ।
यसबीच संसद् पुनर्स्थापना गराउने प्रयोजनका लागि एमालेले आफ्नो दलबाट प्रतिनिधिसभाको सभामुख रहेका देवराज घिमिरेलाई प्रयोग गरेको थियो । सभामुख घिमरेमार्फत सर्वोच्च अदालतमा संसद् पुनर्स्थापनाको रिट हाल्ने एमालेको तयारी थियो । तर, सभामुख घिमिरेले बोलाएको सर्वदलीय बैठकमा अधिकांश दलले चुनावमै जानुपर्ने राय दिएपछि एमालेको उक्त प्रयासले पनि सार्थकता पाउन सकेको छैन ।
यद्यपि, ओली संसद् पुनर्स्थापनाको अडानबाट टसमस भएका छैनन् । जसरी पनि अन्तरिम सरकारलाई विफल पार्ने उनको दाउ छ । त्यसका लागि उनले आन्दोलनको बाटो अपाउने समेत बताइसकेका छन् ।
याे पनि पढ्नुहाेस्–
अक्षम बन्दै अन्तरिम सरकार, ‘नरसंहारकारी’ ओली र लेखकलाई पक्राउ गर्न आनाकानी !
FACEBOOK COMMENTS