काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वऊर्जामन्त्री दीपक खड्का जेन जी आन्दोलनपछि भारत गएर फर्किएको बताएका छन् ।
सोमबार विपिन जोशीको श्रद्धाञ्जली सभामा जाने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री अर्यालले आफूले अन्तर्वार्ता दिँदाको अवस्थामा खड्का भारतमा रहेको र अहिले फर्किएको बताएका हुन् । उनले भने ‘मैले बोलेको दिन उहाँ कहाँ हुनुहुन्थ्यो । इन्टरभ्यू छापिएपछि आउनुभयो नि उहाँ त !’
उनले सञ्चारकर्मीलाई उहाँ कहाँ हुनुहुन्थ्यो सोध्नुस् न ? भन्दै प्रतिप्रश्नसमेत गरेका थिए । खड्का जेन जी आन्दोलनपछि कहाँ थिए भन्ने कुरा उनी स्वयंले भनिसकेको भन्दै गृहमन्त्री अर्यालले भने, ‘उहाँ आफैले भन्नुभएको छ, उहाँ स्थलमार्गबाट इन्डिया गएको थिएँ भन्नुभएको छ । कहिले जानुभएको थियो ? उहाँलाई सोध्नुपर्यो ।’
यसअघि गृहमन्त्री अर्यालले दिएको एक अन्तर्वार्तामा खड्का विदेश भागेको र अन्य नेताहरू पनि भाग्ने तयारीमा रहेको अभिव्यक्ति दिएका थिए । गृहमन्त्रीको त्यस्तो अभिव्यक्ति आएको अर्को दिन पूर्वउर्जामन्त्री खड्का आज सोमबार बिहान बूढानीलकण्ठस्थित आगजनी भएको आफ्नै निवासमा सार्वजनिक भएका थिए ।
FACEBOOK COMMENTS