काठमाडौं । मोहम्मद रिजवानलाई पाकिस्तानको एकदिवसीय कप्तानबाट हटाइएको छ ।
पाकिस्तान क्रिकेट बोर्डले रिजवानलाई हटाएर उनको स्थानमा अनुभवी तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीलाई एकदिवसीय ढाँचाको कप्तान बनाइएको छ । बोर्ड ह्वाइट बल क्रिकेटका प्रशिक्षक माइक हेसन, उच्च प्रदर्शन निर्देशक आकिब जावेद र राष्ट्रिय छनोट समितिबीच इस्लामाबादमा बैठकपछि यस्तो निर्णय लिएको जनाएको छ ।
शाहीनले नोभेम्बर ४ देखि दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको एकदिवसीय सिरिजबाट पाकिस्तानी टोलीको जिम्मेवारी लिनेछन् । शाहीनले यसअघि २०२४ को सुरुमा टी– २० टोलीको कप्तानी गरेका थिए, तर दुई महिनापछि मात्र उनलाई त्यो भूमिकाबाट हटाइएको थियो ।
रिजवानलाई अक्टोबर २०२४ मा पाकिस्तानको एकदिवसीय र टी– २० टोलीको कप्तान नियुक्त गरिएको थियो, तर उनको नेतृत्वमा टोलीले राम्रो नतिजा हासिल गर्न सकेन । रिजवानको नेतृत्वमा पाकिस्तानले २० मध्ये नौ एकदिवसीय खेल जित्यो, ११ खेलमा हार बेहोरेको थियो । रिजवानको जित प्रतिशत ४५ प्रतिशत थियो । टी–२० मा उनको कप्तानी अझ असफल रह्यो, रिजवान कप्तान रहेका चारै खेल पाकिस्तानले हारेको थियो ।
टी–२० मा पराजयको सिरिज पछि, सलमान अली आगालाई रिजवानको ठाउँमा टी–२० कप्तान नियुक्त गरिएको थियो, तर त्यतिन्जेलसम्म उनी एकदिवसीय टोलीको कप्तानी गर्दै आएका थिए ।
FACEBOOK COMMENTS