पर्वत । पर्वत र बागलुङ जिल्ला जोड्नका लागि कालीगण्डकी नदी माथि फेरि झोलुङ्गे पुल निर्माण सुर भएको छ । नदीभन्दा निकै उचाइमा लामा झोलुङ्गे पुलसँगै साहसिक पर्यटनको गन्तव्यका रुपमा विकास हुँदै गएको पर्वतमा फेरि अर्को पुल निर्माण सुरु गरिएको हो ।
कुश्माबजार र बागलुङको बलेवा जोड्ने पाँचौ पुलको निर्माण आइतबारदेखि सुरु भएको हो । कुश्माबजारस्थित वडा नं। ५ मा रहेको आनन्द गुम्बादेखि बागलुङ नगरपालिका वडा नंं १४ नारायणस्थानको कुकुरगाढे जोड्नका लागि चार सय १५ मिटर लामो पुल निर्माण सुरु गरिएको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो ।
यस अघि कुश्मा–कैया झोलुङ्गे पुल, कुश्मा–बलेवा यान्त्रिक पुल, कुश्मा–बलेवा बन्जी जम्पको पुल र शिर्सुवा–कैया झोलुङ्गे पुल निर्माण भइसकेका छन् । बागलुङ नगरपालिका–१४ का अध्यक्ष चक्रबहादुर खत्रीका अनुसार २०८३ साल पुस मसान्तसम्ममा पुल निर्माण सक्ने गरी स्याङ्जाको जय नेपाल ईश्वर निर्माण सेवा प्रालिले गत असारमा नै ठेक्का सम्झौता गरिसकेको छ ।
पुलका लागि आधारभूत संरचना तयार गर्न तथा संरचना खडा गर्नका लागि व्यवस्थापन गर्नुपर्ने पूर्वतयारी बारेमा निर्माण कम्पनीले अध्ययन सकेर धमाधम निर्माण सुरु भएको छ ।
अहिले कुश्मातर्फको भागमा जग खन्ने र अन्य पूर्वाधार बनाउने काम भइरहेको उहाँले बताउनुभयो । संघीय सरकारबाट विनियोजन भएको रु पाँच करोड २६ लाख ८० हजारको लागतमा उक्त पुल निर्माण हुनेछ । बागलुङको बलेवा, कैया, पैयुँपाटा तथा पर्वतको कुश्मातर्फको ठूलो क्षेत्रफलमा रहेको र यस अगाडि निर्माण भइसकेका पुलहरूबाट सबैले लाभ उठाउन नसकिरहेको बेलामा स्थानीय आवश्यकताका आधारमा जनप्रतिनिधिहरूको पहलमा पुल निर्माण हुन लागेको वडाध्यक्ष खत्रीले बताउनुभयो ।
पुलको नजिकमा ठूलो बस्तीको सम्भावना पनि रहेको तथा कालीगण्डकी करिडोरको तल्लो भूमिमा राम्रो समथर जमिन समेत रहेकाले पनि पुलले स्थानीयको आयस्रोत बढाउन पनि सहयोग गर्ने उहाँको भनाइ छ । बलेवा बिमानस्थल नजिकै जोडिने यो पुलले बिमानस्थल सञ्चालनमा समेत थप टेवा पुग्ने अपेक्षा गरिएको स्थानीय कमल जिसीले बताउनुभयो ।
“विशेष गरी बागलुङ नगरपालिका वडा नं। १२, १३ र १४ को मध्य भागमा पर्ने, गाडीको गन्तव्य भएको, कुश्मा बजारको मध्य भागमा जाने भएकाले यो पुल निकै महत्त्वपूर्ण छ”, उहाँले भन्नुभयो । अहिलेसम्म बलेवाबाट कुश्मा गन्तव्य बनाएर यान्त्रिक पुल तर्दा एकतर्फीको रु ८५ तिर्ने गरेका छन् भने बञ्जि पुलवाट दुईतर्फी रु १२० लाग्छ । यो पुल निर्माण भएपछि निःशुल्क रुपमा आवतजावत गर्न सकिने भएको छ ।
FACEBOOK COMMENTS