अमेरिका । नेपालीहरूको दोस्रो ठूलो पर्व दिपावलीलाई अमेरिकाको टेक्सस राज्यस्थित फोर्ट वर्थ सिटीले विशेष मान्यता प्रदान गरेको छ ।
फोर्ट वर्थ सिटी काउन्सिलको मङ्गलबार बसेको नियमित बैठकले दिपावली पर्वलाई सिटीको विशेष सांस्कृतिक उत्सवका रूपमा मान्यता प्रदान गरेको जनाइएको छ । सिटीले मान्यता प्रदान गरेसँगै अबदेखि हरेक वर्ष दिपावली पर्वलाई फोर्ट वर्थ सिटीको आधिकारिक सांस्कृतिक उत्सवका रूपमा मनाइने भएको सिटी काउन्सिलले जनाएको छ ।
बैठकमा सिटी प्रशासनको तर्फबाट काउन्सिल सदस्य डेबराह पिपल्सले दिपावलीलाई सहरको सांस्कृतिक विविधताको प्रतीकका रूपमा सम्मान गर्नुपर्ने प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावलाई उपस्थित काउन्सिल सदस्य समर्थन जनाएको पिपल्सले बताए ।
जिल्ला नं ५ की काउन्सिल सदस्य पिपल्सले सोसम्बन्धी सम्मानपत्र नेपाली समुदायका अगुवा तथा फोर्ट वर्थ सिटीका भवन मापदण्ड आयुक्त मोहन ज्ञवालीलाई हस्तान्तरण गरिन् ।
हस्तान्तरण कार्यक्रममा सिटी प्रमुख म्याटी पार्करले नेपाली समुदायको उज्यालो पर्व दिपावली–तिहारलाई धार्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण भन्दै सहरले यस पर्वलाई आधिकारिक रूपमा स्वीकार गरेको बताए । उनले फोर्ट वर्थ सिटी विविधता र सांस्कृतिक समृद्धिको उत्कृष्ट उदाहरण भएको र यसमा नेपाली समुदायको पनि विशेष योगदान रहेको चर्चा गरे ।
नेपाली समुदायको तर्फबाट ज्ञवालीले सहर प्रशासनप्रति आभार व्यक्त गर्दै नेपालीहरूको सांस्कृतिक पर्वलाई मान्यता प्रदान गर्नु सम्पूर्ण नेपाली समुदायका लागि गौरवको विषय भएको बताए ।
FACEBOOK COMMENTS