 
			                  			              
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले व्यावसायिक वातावरण निर्माणका लागि सरकारले चालेको पछिल्लो कदमको स्वागत गरेको छ ।
महासंघको सुझावबमोजिम सरकारले जिल्ला सुरक्षा समितिको बैठकमा व्यवसायीहरूको प्रतिनिधित्व गराउन पत्रचार गरेपछि महासंघले उक्त कदमको स्वागत गरेको हो ।
गृह मन्त्रालयले अनुकूल व्यावसायिक वातावरण तयार गर्न जिल्ला सुरक्षा समितिका पदाधिकारी समेतको उपस्थितिमा जिल्लास्थित उद्योग वाणिज्य संघलगायत व्यवसायीहरूको सहभागितामा बैठक राखी आवश्यक समन्वय गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई विहीबार परिपत्र गरेको छ ।
‘नेपाल उद्योग वाणिज्य महासंघको आग्रहमा सुरक्षा प्रत्याभूतिका गर्न सरकारले गरेको उक्त निर्णयका लागि महासंघ गृह मन्त्रालयप्रति हार्दिक आभार व्यक्त गर्दछ । महासंघले निजी क्षेत्रको सुरक्षाको प्रत्याभूतिका लागि केन्द्र र जिल्लास्तरीय सुरक्षा समितिहरूमा महासंघको प्रतिनिधित्व सुनिश्चित गर्न सम्बन्धित जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् प्रतिनिधिको सहभागिताका कात्तिक २ गते गृह मन्त्रालयमा पत्राचार गरेको थियो,’ महासंघद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।
महासंघले सबै तहमा सरकार निजी क्षेत्र समन्वय र मुख्य गरी जिल्लास्तरीय सुरक्षा योजना, जोखिम मूल्याङ्कन र आकस्मिक निर्णय प्रक्रियामा पनि व्यावसायिक समुदाय प्रत्यक्ष सहभागिता सुनिश्चितताका लागि आग्रह गरेको थियो ।

केन्द्र, प्रदेश, जिल्ला र स्थानिय तहमा सरकार र निजी क्षेत्रबीच समन्वय संयन्त्रको आवश्यकता महशुस गरिएको अवस्थामा सरकारको यो निर्णयले व्यावसायिक मनोबल बढाउनुका साथै सरकार र निजी क्षेत्रबीच समन्वय एवम् सहकार्यमा सहजता थप्ने विश्वास महासंघले गरेको छ ।

‘यस निर्णयबाट व्यवसायीको मनोबल बढन गै अर्थतन्त्र चलायमान हुने विश्वास हामीले लिएका छौँ,’ महासंघका कार्यवाहक अध्यक्ष अन्जन श्रेष्ठले भने, ‘यसका लागि हामी नेपाल सरकार गृह मन्त्रालयलाई धन्यवाद दिन चाहन्छौँ ।’

यसैबीच महासंघले सरकारको निर्णय अनुसार जिल्लास्थित उद्योग वाणिज्य संघहरुलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरी आवश्यक समन्वय गर्न पनि आग्रह गरेको छ ।

 
              
              
              
              		              
FACEBOOK COMMENTS