काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले दल विभाजन रोक्न माग गर्दै दिएको रिटमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
सर्वोच्चका न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।
यसअघि राउतको रिटमा न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले राउतको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै अहिलेसम्म भएका निर्णय यथास्थितिमा राख्न आदेश गरेको हो । छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेश भएको थियो ।
दुवै पक्षको बहस सुनेपछि सर्वोच्चले आज यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने या नदिने भन्ने विषयमा निर्णय गर्नेछ । राउतले रिटमा अलग्गै दल दर्ता गराउन दिएको निवेदन अघि नबढाउनु भनी अन्तरिम आदेश जारी गर्न माग गरेका थिए ।
राउत नेतृत्वको जनमत पार्टी विभाजित भएर एउटा पक्षले आइतबार नयाँ दल दर्ताका लागि निवेदन दिएको थियो । उपाध्यक्ष दीपक साहको नेतृत्वमा करिब २० प्रतिशत केन्द्रीय कार्यकारिणी सदस्यले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए ।

FACEBOOK COMMENTS