काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा भाग लिन कतारको राजधानी दोहा पुगेका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित कतारको राजधानी दोहा पुगेका हुन् ।
राष्ट्रपति पौडेल कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्मेलनमा सहभागी हुन कतार आएका हुन्।
राष्ट्रपति पौडेललाई दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारी विदेश मन्त्रालय र त्यहाँस्थित नेपाली राजदूत रमेशचन्द्र पौडेललगायत दूतावासका उच्चपदस्थ पदाधिकारी, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापालगायतले स्वागत गरेका थिए ।
राष्ट्रपति पौडेलले सम्मेलनको मुख्य सत्रलाई कात्तिक १८ गते सम्बोधन गर्ने कार्यक्रम छ। राष्ट्रपति पौडेलले सो सम्मेलनका अवसरमा कतारका अमिर शेख तमिम बिन हमद अल थानी र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ। राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्किनेछन् ।
FACEBOOK COMMENTS