काठमाडौं । एनआईसी एसिया बैंकमा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजित कुमार शाक्यले कार्यभार सम्हालेका छन् ।
बैंक सञ्चालक समितिले उनलाई सोमबार सीईओ नियुक्त गरेको थियो । शाक्यले आज बिहीबार कार्यभार सम्हालेका हुन् ।
आगामी चार वर्षका लागि बैंकको सीईओ नियुक्त भएका उनी सोही बैंकका पूर्व कर्मचारी हुन् । पछिल्लो समय उनी नबिल बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत थिए । उनलाई ३० दिनभित्र सीईओको पदभार ग्रहण गरिसक्न भनिएको थियो ।
झन्डै तीन दशकदेखि नेपालको बैंकिङ्ग प्रणालीमा विशिष्ट योगदान पुर्याउँदै आएका शाक्य भारतको नयाँ दिल्लीस्थित दिल्ली युनिभर्सिटीबाट ब्याचलर इन कमर्श (बीकम) र भारतकै इन्स्टिच्युट अफ प्रोडक्टिभिटी एण्ड म्यानेजमेन्ट, लखनऊबाट व्यवस्थापनमा स्नातकोत्तर (एमबीए) उत्तीर्ण गरेका छन् ।
सन् १९९६ देखि तत्कालीन नेपाल श्रीलंका मर्चेन्ट बैंकबाट बैंकिङ्ग यात्रा सुरू गरेका शाक्यले हिमालयन बैंक र तत्कालीन लक्ष्मी बैंक हुँदै सन् २००७ देखि तत्कालीन बैंक अफ एसिया नेपालमा बिजनेस बैंकिङ्ग प्रमुखका रुपमा जिम्मेवारी निर्वाह गरेका थिए ।

तत्कालीन बैंक अफ एसिया नेपाल र एनआईसी बैंकको मर्जर प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेका उनी मर्जरपछिको एनआईसी एसिया बैंकमा सहायक महाप्रबन्धकको रुपमा कर्पोरेट बैंकिङ्ग प्रमुख भई काम गरेका थिए । यस्तै, तत्कालीन सिभिल बैंक, तत्कालीन जनता बैंक, ग्लोबल आईएमई बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरिसकेका शाक्य एनआईसी एसिया बैंकमा सीईओ नियुक्त हुनुअघि नबिल बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।

FACEBOOK COMMENTS