पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको नाफा घट्यो
कर्पोरट खबर
1:23 pm, शुक्रबार, कात्तिक २१, २०८२
काठमाडौं । चालु आर्थिक वर्ष ०८२/८३ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको कुल नाफा घटेको छ । २० वाणिज्य बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार, अधिकांश वाणिज्य बैंकको नाफा घटेको छ ।
चालु आर्थिक वर्षको तीन महिनाको अवधिसम्ममा वाणिज्य बैंकहरूले १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ खुद नाफा गरेका छन् । गत आर्थिक वर्षको पहिलो तीन महिनासम्ममा १६ अर्ब १२ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । गत वर्षको तुनामा २० वाणिज्य बैंकहरूको नाफा १८ प्रतिशतले घटेको हो ।
पन्ध्र वाणिज्य बैंकहरूको नाफा घटेको छ । जसमध्ये सिटिजन्स बैंक इन्टरनेसनल २२ करोड चार लाख रुपैयाँ घाटामा छ ।
सर्वाधिक नाफा कमाउनेमा ग्लोबल आईएमई बैंक छ । यस बैंकले असोज मसान्तसम्ममा एक अर्ब ८५ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो २२.९२ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक थियो । तर, चालु आर्थिक वर्षको सोही अवधिमा यो बैंक दोस्रो स्थानमा झरेको छ । नबिल बैंकले असोज मसान्तसम्ममा एक अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको छ ।
कुनकुन बैंकको नाफा बढ्यो ?
चालु वर्षको तीन महिनामा ग्लोबल आईएमई, एभरेस्ट, राष्ट्रिय वाणिज्य, सानिमा र एनआईसी एसिया बैंकको नाफा बढेको छ । यी पाँच बैंकको नाफा गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनमा चालु वर्षको सोही अवधिमा नाफा बढेको छ ।
सर्वाधिक नाफा वृद्धि गर्नेमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । यस बैंकको गत वर्षको पहिलो तीन महिनामा आर्जन गरेको नाफाको तुलनामा २९५.७२ प्रतिशतले नाफा वृद्धि भएको हो ।
FACEBOOK COMMENTS