काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन शाह जेनजी आन्दोलनपछि पहिलो पटक सार्बजनिक कार्यक्रममा देखिएका छन् । शुक्रबार बालेनले व्रह्माको मन्दिर समुद्घाटन गरेका हुन् ।
उपप्रमुख सुनिता डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नम्बर ८ का अध्यक्ष आशामान संगतसहित प्रमुख शाहले महानगरपालिकाको वडा नम्बर ८ जयवागेश्वरी, गायत्री मार्गमा रहेको मन्दिरको शिलालेख अनावरण गर्दै समुद्घाटन गरेका हुन् ।
मन्दिर समुद्घाटनपछि बोल्दै उपप्रमुख डंगोलले, प्राचीन स्मारकको जीवनका रुपमा रहेका आकृतिक, मूर्ति तथा कलाकृति पुनरुत्थानबाट सांस्कृतिक सहरको पहिचान पुनस्थापित गर्न लागिरहेको बताएकी थिइन् ।
यो मन्दिर हराएकै १ सय वर्षभन्दा धेरै भएको थियो । वडाध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक संगतका अनुसार १९९० साल अघि नै मन्दिर भग्नावशेष भएको थियो । यसपछि झाडी मात्र थियो । पुरातत्व विभागको सहयोगमा मन्दिर भएको ठाउँमा उत्खनन गरेपछि यसको प्राचीनताको अध्ययन गरिएको थियो । संगत भन्छन्– ’अध्ययनबाट मन्दिर छैटौँ शताव्दी देखि सातौँ शताव्दीको विचमा निर्माण भएको अनुमान गरिएको छ । मन्दिरको वनावट र प्रकृति सम्बन्धी दस्तावेज नपाइए पछि जगको आकृति, प्रयोग भएको निर्माण सामग्रीका आधारमा पुरातत्वविदहरुबाट मन्दिरको रेखाङ्कन गराएर पुननिर्माण गरिएको हो ।’
मन्दिरको मूर्ति गौशाला प्रहरी वृत्तमा राखिएको थियो । चतुर्मुख व्रह्माको यो मूर्तिलाई पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतअनुसार कार्तिक १७ गतेको साइतमा प्रहरी परिसरबाट रथारोहण गरी मन्दिरमा लगेर पुन:स्थापना गराइएको हो । करिब २०३६ सालतिर यो मूर्ति चोरिएको थियो । चोरेर लैजाने क्रममा टाढा पुर्याउन नसकेपछि चोरले छोडेर भोगेका थिए । त्यसपछि प्रहरीले मूर्तिलाई संरक्षणमा राखेको थियो ।

पशुपति क्षेत्र विकास कोषका पुरातत्व अधिकृत शुशिलकुमार गौत्तमले यस मूर्तिको विशेषताका बारेमा जानकारी दिँदै भने, ‘मूर्तिमा ४ वटा टाउका छन् । छातीतर्फको टाउकोले पश्चिम हेरेको छ । एउटा हातमा कमण्डलु र अर्को हातमा रुद्राक्षको माला बोकेको छ । २ वटा टाउका काँध माथि छन् भने एउटा टाउको पछाडिपट्टि छ । यसकारण यो मूर्ति व्रह्माको हो ।’ पछिल्लो समयमा यो मूर्ति कसको हो भन्ने विषयमा सामाजिक सञ्जालमा चलेको चर्चाका विषयमा कुरा गर्दै गौत्तम भन्छन्, ‘मूर्ति व्रह्मासनमा छ । यो व्रह्माको आसन हो । नेपालमा व्रह्माका २ वटा मूर्ति छन् । एउटा यही हो । अर्को चापागाउँमा छ । यहाँका विषयमा अभिलेख प्राप्त हुन सकेको छैन । चापागाउँमा रहेको मूर्तिसँग कुवेर गुप्त र आनिक गूप्तले निर्माण गराएको उल्लेख छ ।’

मन्दिरका आर्किटेक्ट डिजाइनर विनिता मगैयाका अनुसार जगबाट ३०० × २०० मिलिमिटरका ७२ वटा इटाको उचाइमा मूर्तिको आसन छ । एउटा इटाजत्ति मूर्तिको जग छ । १० वटा इटाको उचाइ बराबरको मूर्ति छ । झाडी र फोहर थुपारिएको ठाउँमा मन्दिरको प्रारुप खोज्ने बेलामा लम्बाइ चौडाई साढे ८ भएको संरचना भेटिएको थियो । मगैयाका अनुसार अहिले मन्दिरको पेटी २६ × २६ को र मन्दिर १६ × १६ को क्षेत्रफलमा बनाइएको छ ।

आर्किटेक्ट गौरव श्रेष्ठका अनुसार सार्वजनिक खरिद प्रक्रियाबाट छानिएको निर्माण पक्षबाट १ करोड १२ लाख ४५ हजार रुपियाँ लागतमा मन्दिर पुननिर्माण भएको हो । सडकबाट ५ फिट उचाइमा पेटी उठाएर मन्दिर निर्माण गरिएको छ । माटो, इटा र काठको प्रयोगबाट पुन:निर्माण भएको मन्दिर २३.५ फिट उचाइको दुई तले प्यागोडा शैलीको छ । मन्दिरमा शिरमा ३ फिटको गजुर राखिएको छ ।

संस्कृतिविद मुकुन्दराज वैद्यका अनुसार व्रह्मा मन्दिरको पुनरुत्थानले ग्वल:दे क्षेत्रको प्राचीनतालाई पुनस्थापना गराउन मद्दत गरेको । ग्वल दे: को विशेषता भनेको तान्त्रिक विधि र प्राचीनतामा ९ अङ्कको प्रयोग हो । ग्वल: क्षेत्रमा ९ वटा पोखरी, ९ वटा ढुङ्गेधारा, ९ वटा इनार, ९ वटा ढोका, ९ वटा शक्तिपीठ, ९ वटा पाटीपौवा, ९ वटा डवली, ९ वटा टोल र ९ थरी जात छन् । मन्दिरको उत्खनन गर्दा जगमा ९ वटा कुण्ड भेटिएका थिए । यो कुण्ड ‘ग्वल: देँ’ (ग्वल: देश) निर्माणको प्राचीनता, धार्मिक आस्था र तान्त्रिक विधिसँग सम्बन्धित विशेषतासँग जोडिएको छ । २०८१ सालमा शिलान्यास र जगपूजा गरिएको थियो ।


FACEBOOK COMMENTS