काठमाडौं । रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले आउँदो चुनावमा नागरिकको मताधिकार सुनिश्चित गर्न राष्ट्रिय परिचयपत्रकोआधारमा मतदान गर्न पाउने व्यवस्था गर्न माग गरेको छ ।
फ्रन्टले शुक्रबार विज्ञप्ति जारी गर्दै कार्त्तिक ३० गतेसम्म नयाँ दर्ता गर्न सकिने भएकाले दुर्गम जिल्लाहरुमा सबैले आफ्नो नाम दर्ता गर्न सम्भव नभएको भन्दै राष्ट्रिय परिचयपत्रको तथ्याङ्कका आधारमा निर्वाचन केन्द्रमै बायोमेट्रिक्स रुजु गरेर मतदान गर्ने व्यवस्था मिलाउन माग गरेको हो ।
साथै फ्रन्टले राष्ट्रिय परिचयपत्रमार्फत नागरिकले एकपटक बायोमेट्रिक्स विवरण दिइसकेको अवस्थामा त्यसैका आधारमा मतदान गर्न दिँदा फर्जी मतदानको समस्या नहुने र मतदातालाई समेत सहज हुने भएकाले जनमुखी र समाधानमुखी काम गर्न अपील गरेको छ ।
नेपाल जेनजी फ्रन्टको विज्ञप्तिः
यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन गरिरहेको छ । तर यसका विभिन्न सीमितता देखिएका छन् । मतदाता नामावलीमा नाम दर्ताका लागि बायोमेट्रिक्स गर्न जिल्ला सदरमुकाम नै पुग्नुपर्ने जटिलताले मतदातामा उत्साह छैन । निर्वाचन आयोगले कार्त्तिक ३० गतेसम्म नयाँ दर्ता गर्न सकिने भनेकोमा दर्ताका लागि अब ९ दिन मात्रै बाँकी रहेको छ । अहिलेसम्म जम्मा १ लाख ३६ हजार नयाँ मतदाताले दर्ता गरेको तथ्याङ्क आएको छ । यस्तो परिस्थितिले समग्रमा जेन(जी विद्रोह र युवाहरूको मर्मलाई समेट्न नसक्ने देखिएको छ । लोकतन्त्रमा सकेसम्म धेरै नागरिकको मताधिकार सुनिश्चित गर्न सके मात्रै प्रणालीको सबलीकरण र सुदृढीकरण हुँदैजान्छ ।

तसर्थ, यस समस्यालाई समाधान गर्न र आउँदो चुनावमा नागरिकको मताधिकार सुनिश्चित गर्न राष्ट्रिय परिचयपत्रको तथ्याङ्कका आधारमा निर्वाचन केन्द्रमै बायोमेट्रिक्स रुजु गरेर मतदान गर्ने व्यवस्था मिलाउन नेपाल सरकार र निर्वाचन आयोगसमक्ष जोडदार माग गर्दछौँ । राष्ट्रिय परिचयपत्रमार्फत नागरिकले एकपटक बायोमेट्रिक्स विवरण दिइसकेको अवस्थामा त्यसैका आधारमा मतदान गर्न दिँदा फर्जी मतदानको समस्या नहुने र मतदातालाई समेत सहज हुने भएकाले जनमुखी र समाधानमुखी काम गर्न सम्बद्ध सबैमा अपील गर्दछौँ ।

FACEBOOK COMMENTS