काठमाडौं । चरम लोडसेडिङका बेला डेडिकेटेड फिडर र ट्रङ्कलाइनमार्फत विशेष सुविधा लिएको अर्घाखाँची सिमेन्टले वर्षौँदेखि विद्युत् महसुल तिरेको छैन ।
विद्युत् प्राधिकरणले ढिलोगरी बिल पठाएको, टाइम अफ डे (टीओडी) मिटरअनुसार बिलिङ नगरिएको र एकमुष्टमा बिल पठाएको भन्दै अर्घाखाँचीसहित दर्जनौँ उद्योगहरूले लामो समयदेखि बक्यौदा महसुल नबुझाएका हुन् । विशेष सुविधा प्राप्त गर्न निवेदन दिएका उद्योगहरूले सम्झौता अनुसार स्वतः प्रिमियम थपरेर महसुल भुक्तानी गर्नुपर्ने नेपाल विद्युत् प्राधिकरणको भनाइ छ ।
यही महसुल विवादको बाहानामा पटक–पटक उद्योगहरूमा विद्युत् आपूर्ति बन्द र सुचारु गर्ने परम्परा नै बसिसकेको छ । पछिल्लो समय पनि प्राधिकरणले अर्घाखाँचीसहित २५ वटा उद्योगमा विद्युत् आपूर्ति बन्द गरेको थियो । त्यसबाट उद्योग बन्द हुँदा उद्योगमा आश्रित हजारौँ श्रमिकहरू नियमित रोजगारीबाट वञ्चित हुँदै आएका छन् । तर, उद्योगीहरू भने अझै पनि बक्यौदा महसुल तिर्ने मनस्थितिमा देखिँदैनन् ।
उनीहरूले समयमै महसुल नतिरेका कारण आफूहरू रोजगारीबाट पटक–पटक वञ्चित बन्नुपरेको गुनासो श्रमिकहरूको छ । प्राधिकरण र उद्योगीहरूबीच भइरहेको द्वन्द्वको चेपुवामा आफूहरूलाई नपार्न उनीहरूको याचना छ । श्रमिकहरूको हितका निम्ति भए पनि महसुल तिरेर उद्योगहरू निरन्तर सञ्चालनको वातावरण बनाउनुपर्नेमा उनीहरूको जोड छ ।
पछिल्लो समय नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को पहलमा विद्युत् महसुल तिर्ने वातावरण तयार पारिए पनि अर्घाखाँचीलगायत अझै केही उद्योगहरूले बक्यौदा महसुल तिर्न आनाकानी गरिरहेका छन् । उक्त विशेष सुविधा लिएबापत अर्घाखाँची सिमेन्टले नेपाल विद्युत् प्राधिकरणलाई ४४ करोड ८४ लाख रुपैयाँ महसुल तिर्न बाँकी छ ।

महसुल तिर्न बाँकी उद्योगहरूमध्ये शीर्ष पाँचमा अर्घाखाँची सिमेन्ट छ । प्राधिकरणका अनुसार पहिलो नम्बरमा जगदम्बा स्टील्स छ । उसले एक अर्ब ६० करोड १८ लाख रुपैयाँ महसुल बुझाउन बाँकी छ । यस्तै, दोस्रो नम्बरमा रिलायन्स स्पिनिङ मिल्सले ७५ करोड ३७ लाख, तेस्रोमा शिवम् सिमेन्टले ६६ करोड ८८ लाख, चौथोमा घोराही सिमेन्टले ५० करोड ८५ लाख र पाँचौँमा अर्घाखाँची सिमेन्टले ४४ करोड ८४ लाख रुपैयाँ महसुल तिर्न बाँकी छ ।

पछिल्लो समय प्राधिकरणले यी पाँचवटासहित दुई दर्जन उद्योगको लाइन काटेको थियो । त्यसमध्ये दोस्रो नम्बरमा रहेको रिलायन्स स्पिनिङ मिल्सले दुई दिनअघि बक्यौदाको पहिलो किस्ता तिरेर आफ्नो उद्योगमा लाइन जोडेको छ भने अन्य कम्पनीहरू अझै अटेर गरिरहेका छन् । उद्योगीहरूको सहजताका लागि प्राधिकरणले कुल महसुल रकमलाई २८ खण्ड गरी वार्षिक किस्तामा तिर्ने व्यवस्थासमेत मिलाएको छ ।

चचलचित्र हलमा अर्घाखाँची सिमेन्ट

यसैबीच विद्युत् महसुल तिर्न आनाकानी गर्दै आएको अर्घाखाँची सिमेन्टले आफ्ना कर्मचारी र व्यापारिक साझेदार डिलरहरूका लागि एउटा चलचित्रको विशेष प्रदर्शनी नै खरिद गरिदिएको छ । चत्रिचित्र ‘परान’ लाई साथ दिने बाहानामा उद्योगले शनिबार ‘कर्पोरेश शो’ आयोजना गरेको थियो ।

काठमाडौंको सिभिल मलस्थित क्यूएफएक्स सिनेमा हलमा शनिबार उक्त शो आयोजना गरिएको थियो । अर्घाखाँची सिमेन्टले विशेष प्रदर्शनीमार्फत उद्योगका कर्मचारी र डिलरमा आवद्ध व्यक्तिहरूलाई चलचित्र देखाएको हो ।
पछिल्लो समय ‘परान’ चलचित्रले राम्रो बजार पाएको चर्चासँग आफूहरू सामुहिक रूपमा चलचित्र हेर्न हलमा पुगेको अर्घाखाँची सिमेन्ट लिमिटेडका महाप्रबन्धक रमेश थापाले बताए । सांस्कृतिक अभिवृद्धि र मनोरञ्जनलाई संस्थागतस्तरमै प्रोत्साहन गर्ने उद्देश्यले आफूहरू चलचित्र हलसम्म पुगेको उनको भनाइ छ । यो कदमले अर्घाखाँची सिमेन्टका डिलर र कर्मचारीबीच आपसी सम्बन्ध र सकारात्मक ऊर्जा सुदृढ गर्ने विश्वास उनले व्यक्त गरे ।
नेपाली समाजको पारिवारिक कथा समेटिएको ‘परान’ चलचित्र जीवनको उत्तरार्द्धमा सन्तानको साथ र माया खोजिरहेका एक बुबाको कथामा आधारित छ । चलचित्रले बुबाआमाले बुढेसकालमा सन्तानको सामीप्य चाहने र सन्तानले आफ्ना आकांक्षालाई प्राथमिकता दिँदा उत्पन्न हुने भावनात्मक दूरी र अवस्थालाई चित्रण गरेको निर्देशक दीपक प्रसाद आचार्यले बताए ।
यी हुन् विद्युत् महसुल नतिर्ने पाँच ठूला उद्योग, जसले बुझाउनुपर्ने छ झण्डै चार अर्ब रुपैयाँ
२२ अर्ब विद्युत् महसुल बक्यौतामा पशुपति मुरारकाको शक्ति खेल : महासंघदेखि सरकारसम्म कब्जा !
बिजुलीको महसुल नतिर्ने उद्योगीको सम्पत्ति लिलामीदेखि उद्योग राष्ट्रियकरणसम्मको माग
विद्युतको महसुल नतिरेर ‘राज्य दोहन’ गर्ने यी हुन् मुख्य पाँच उद्योगी
FACEBOOK COMMENTS