काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि अर्घाखाँची सिमेन्ट लिमिटेडले १ करोड ११ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम योगदान गर्ने घोषणा गरेको हो।
कम्पनीले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकारसँग सहकार्य गर्दै प्रभावित नागरिकसँगै रहने कम्पनीले जनाएको छ।
उक्त सहयोग रकमबाट बाढी प्रभावित क्षेत्रमा सञ्चालन भइरहेका राहत, उपचार तथा पुनःस्थापनाका कार्यमा सहयोग पुग्ने कम्पनीको विश्वास छ।