काठमाडौं । टर्कीको एउटा सैनिक मालवाहक विमान अजरबैजानको सिमाना नजिक दुर्घटना भएको छ । सो विमानमा २० जना सवार थिए । उनीहरुको अवस्था पुष्टि भइसकेको छैन ।
तर टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआन र जर्जिया तथा अजरबैजानका उच्च अधिकारीहरूले विमानमा सवार केही व्यक्तिको मृत्यु भएको आशंका व्यक्त गरेका छन्, तर विस्तृत जानकारी दिएका छैनन् ।
टर्कीका समाचार माध्यमहरूले प्रसारण गरेको भिडियो फुटेजमा विमान घुम्दै तल झर्दै गरेको र सेतो धुवाँ उडेको देखिन्छ । टर्कीको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत् दिएको जानकारी अनुसार, सी–१३० विमान अजरबैजानबाट टर्की फर्किंदै गर्दा मंगलबार दुर्घटनाग्रस्त भएको थियो ।
मन्त्रालयका अनुसार, विमानमा चालक दलसहित २० जना सैनिक थिए । टर्कीका गृहमन्त्री अली येरलिकायाका भनाइअनुसार, जर्जियाली अधिकारीहरू बेलुकी करिब ५ बजे दुर्घटनास्थलमा पुगेका थिए र खोज तथा उद्धार कार्य जारी रहेको छ ।
FACEBOOK COMMENTS