काठमाडौँ । पशुपति क्षेत्रलगायत देशभरका शिव मन्दिरमा आज शतबीज छरी बालाचतुर्दशी पर्व मनाइएको छ ।
प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशी अर्थात् आजैका दिन पितृको मोक्षको कामना गर्दै बालाचतुर्दशी पर्व मनाउने गरिन्छ । देशका विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजनको पशुपतिमा भीड लागेको थियो ।
आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै श्लेषमान्तक वन, १०८ शिवलिंग, कैलाशडाँडा, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्या त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिर वरपर बसी दिवंगत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताएका थिए ।
बुधबार बिहानैदेखि पशुपतिनाथसहित देशभरका महादेव मन्दिरमा मृतक आफन्तको सम्झनामा शतबीज छरेका छन् ।


FACEBOOK COMMENTS