काठमाडौं । जेन जी मधेश प्रदेश संयोजक शिव यादवले बाराको सिमरामा आज भएको घटना नेकपा (एमाले) ले नै घटाएको आरोप लगाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले जेन जीले एमालेको कार्यक्रममा कुनै अवरोध नगरेको, बरु एमालेद्वारा परिचालित गुण्डा समूहले जेन जीहरूलाई कुटपिट गरेको बताएका छन् ।
उनका अनुसार आज सिमरा चोकमा जेन जीको कार्यक्रम थियो । उक्त कार्यक्रम एमालेद्वारा परिचालित समूहले भाँडेको यादवको भनाइ छ ।
एमालेको कार्यक्रम परवानीपुरमा भए पनि सिमरामा आएर जेन जीहरूलाई अपमान, दुर्व्यवहार र कुटपिट गरेको उनले बताएका छन् ।
उनले घटना घटाउनमा संलग्न एमालेका कार्यकर्ताहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न पनि माग गरेका छन् ।

यादवले आजको घटनाका मुख्य योजनाकार एमाले नेता महेश बस्नेत भएको आरोप लगाउँदै उनलाई मधेश प्रदेशमा निषेधको व्यवस्था मिलाउन पनि सरकारसँग माग गरेका छन् ।

उनले भनेका छन्–

जेन जी बारा समितिले एमालेको कार्यक्रममा कुनै फ्रकारको अवरोध गरेको होइन । खासमा सिमरा चोकमै आज जेन जीको कार्यक्रम थियो । यो कार्यक्रममा एमालेद्वारा नै परिचालित गुण्डा समूहहरू पसेर बारा संयोजक सम्राट उपाध्यायलगायतका जेन जी साथीहरूलाई कुटपिट गरेका हुन् ।

एमालेको कार्यक्रम परवानीपुरमा थियो । तर, एमालेका गुण्डाहरू सिमरामा आएर जेन जी साथीहरूको अपमान गर्ने, दुर्व्यवहार गर्ने र कुटपिट गर्ने काम गरेको तथ्य स्पष्ट हुँदाहुँदै पनि कतिपयले गलत सूचना प्रवाह गर्ने प्रयास गरेका छन्, जुन अत्यन्त भ्रामक, पूर्वाग्रही र आन्दोलनलाई बदनाम गर्न गरिएको दुष्प्रयास हो ।

म सबै मिडियाकर्मीसहित सम्बद्ध पक्षहरूलाई यस्ता गलत सूचना सम्प्रेषण नगर्न अनुरोध गर्दछु ।
यो घटना घटाउने कार्यमा संलग्न एमालेका गुण्डाहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्नुपर्छ । आजको घटनाका मुख्य योजनाकार महेश बस्नेतलाई मधेश निषेधको व्यवस्था मिलाउन सरकारसँग माग गर्दछु ।
मधेशमा एमालेले पछिल्लो समय लगातार उक्साहटपूर्ण र तनाव सिर्जना गर्ने गतिविधि गर्दै आएको छ । यसले मधेशको शान्ति सुरक्षामै खलल पुर्याएको छ । यस विषयमा संवेदनशीलता अपनाउँदै कडा कदम चाल्न राज्य र राज्यका संयन्त्रलाई म अनुरोध गर्न चाहन्छु ।
FACEBOOK COMMENTS