काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बाराका प्रहरी प्रमुख एवं एसपी सन्तोष तामाङलाई हेडक्वार्टर तानिएकोमा आपत्ति जनाएका छन् ।
शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित पार्टीको सभामा उनले ‘जेन जी’लाई सघाएन भनेर एसपी हटाइएको भन्दै आपत्ति जनाएका हुन् ।
“जेन जीलाई सघाएन भनेर एसपीलाई तानियो । यो तमासा होइन ? त्यहाँ एयरपोर्ट बन्द गराउने नाटक गराउन कुनै जेन जी आएको थिएन,” उनले भने ।
प्रहरी जेन जी बनेर आइदिनुपर्ने ? भन्दै उनले प्रश्न समेत गरे । उनले सरकारलाई प्रहरी पनि एमालेजस्तो लाग्न थालेको बताए ।
“अब उहाँहरूलाई पुलिस पनि एमाले लाग्न थाल्यो । अब उहाँहरूलाई अदालत, कर्मचारी, सेना एमाले लाग्न थाल्छ,” ओलीले भने ।

बाराको सिमरामा झडप, तनाव र जेन जीसँग स्थानीय प्रशासनको छलफलपश्चात् प्रहरी प्रधान कार्यालयले शुक्रबार त्यहाँका एसपी तामाङलाई हटाएको थियो ।

त्यहाँ अर्का एसपी नरेन्द्र कुँवरलाई पठाइएको छ ।

FACEBOOK COMMENTS