काठमाडौं । हाल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित पहिलेको नेकपा (माओवादी केन्द्र) का नेता सुदन किरातीले पार्टीमा रूपान्तरणको माग गर्दा नसुनिएकाले पार्टी छाड्नुपरेको बताएका छन् ।
आज आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा कार्यक्रममा बोल्दै उनले पुराना पार्टीहरू रूपान्तरण र पुस्तान्तरणको माग र आवश्यकता नसुनेर ‘वृद्ध क्लब’ खोल्ने प्रतिस्पर्धामा लागेको बताए ।
उनले भने–
हामीलाई त चाहना थियो पुरानै पार्टी रूपान्तरण गर्ने । लामो समयदेखि हामी सङ्घर्षमा पनि थियौं । तर, हाम्रो कुरा कतै गुञ्जायस भएन, सुन्ने चेष्टा गरिएन । हामीले हाम्रो पार्टीभित्र रूपान्तरण र पुस्तान्तरणको कुरा उठाएका थियौं ।
तर, पुस्तान्तरण र रूपान्तरको कुरा अर्थात् भ्रष्टाचार, नातावाद, कृपावाद, सामाजिक सञ्जाल मात्रै होइन, जेन जीहरूले गरेको विद्रोहमा नबोलेर दिएको सन्देश रूपान्तरण र पुस्तान्तरण नै हो । आज ठूला दलहरूले यी मुद्दाहरूलाई ओझेलमा पार्दै वृद्ध क्लब खोल्ने प्रतिस्पर्धामा लागेका छन् । उहाँहरूलाई हाम्रो सम्मान छ, हामी अपमान गर्दैनौं । तर, आजको आवश्यकता, आजको समयको ढुकढुकीलाई उहाँहरूले बुझ्न नसकेको हुनाले हामीले यो बाटो लिएका छौं ।

FACEBOOK COMMENTS