काठमाडौँ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग अमेरिकी विशेष दूत स्टीव विटकफ र राष्ट्रपति ट्रम्पका ज्वाइँ जेरेड कुशनरले युक्रेन युद्धका विषयमा पाँच घण्टा लामो बैछलफल गरेका छन् । लामो बैठकको बावजुद, दुवै पक्ष सहमतिमा पुग्न भने असफल भएका छन् ।
पुटिनका विदेश नीति सल्लाहकार युरी उशाकोभले वार्ता फलदायी भएको बताउदै कुनै पनि सहमतिमा भने नपुगेको जानकारी दिएका छन् । छलफलका क्रममा पुटिनले युक्रेनले डोनबास क्षेत्र रूसलाई हस्तान्तरण नगरेसम्म कुनै सम्झौता नहुने स्पष्ट गरेका छन् ।
उशाकोभले पुटिनले अमेरिकी शान्ति प्रस्तावका केही भागहरूसँग सहमत भएको तर धेरै अन्य बुँदाहरूमा स्पष्ट रूपमा अस्वीकृति व्यक्त गरेको बताए । उशाकोभले पुटिन र ट्रम्पबीच कुनै नयाँ बैठक हाल तय नभएको र भविष्यको कार्यदिशा शान्ति योजना कसरी विकास हुन्छ भन्ने कुरामा निर्भर हुने प्रतिक्रिया दिएका छन् ।
यी वार्ताहरू चलिरहेको बेला, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमा युक्रेन अमेरिकी प्रतिनिधिमण्डलबाट संकेतको पर्खाइमा रहेको बताएका छन् । उनले वार्ता पछि, अमेरिकी अधिकारीहरूले युक्रेनलाई सिधै जानकारी दिने र त्यसपछि मात्र युक्रेनले आफ्नो अर्को कदम चाल्ने उल्लेख गरेका छन् ।
युक्रेनी अधिकारीले उनीहरूलाई पहिले नै पुटिनको अडानको बारेमा जानकारी रहेको र केही बुँदाहरूमा सहमत हुने र अरूमा कडा आपत्ति जनाउने बारे आफुहरु जानकार रहेको टिप्पणी गरेका छन् ।

बैठकको ठीक अगाडि, पुटिनले युरोपलाई अमेरिकी शान्ति योजनामा परिवर्तनहरू गरेको आरोप लगाएका थिए । पुटिनले रूसले युद्ध नचाहने तर युरोपले युद्ध सुरु गर्न चाहेमा आफुहरु तयार रहेको चेतावनी दिएका थिए ।

FACEBOOK COMMENTS