काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ ।
साढे १० बजे सुरू भएको बैठकमा सरकारका प्रतिनिधि अनुपस्थित भएपछि बैठक स्थगित गरिएको हो ।
उपसभामुख बबिता कुमारी राउत ईशरले प्रदेश सभा दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिइन् ।
मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने प्रयोजनका लागि बिहान ८ बजे बस्नेगरी प्रदेश सभा बैठक बोलाइएको थियो । सर्वोच्च अदालतले सोमबार परमादेश जारी गर्दै २४ घण्टाभित्र मुख्यमन्त्री यादवलाई विश्वासको मत लिन भनेको थियो ।
उनले विश्वासको मत नपाएको खण्डमा पुन: संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री चयन प्रक्रिया अघि बढाउन सर्वोच्चले आदेश जारी गरेको छ । मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वासको प्रस्ताव पारित भइसकेको छ । मुख्यमन्त्री यादवले दिउँसो २ बजेका लागि बैठक बोलाइदिन पत्र पठाएका थिए ।

१०७ सदस्यीय मधेस प्रदेशसभामा बहुमतका लागि ५४ प्रदेश सभा सदस्यको समर्थन आवश्यक हुन्छ । तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको हैसियतले नेकपा एमालेका दलका नेता सरोजलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । जसले मधेस प्रदेशको राजनीतिमा तरंग ल्याएको थियो ।

FACEBOOK COMMENTS