काठमाडौं । नेपालमा क्रमशः चिसो बढ्दै गइरहेका बेला बुधबार दुई जिल्लामा न्यूनतम तापक्रम ‘माइनस’मा झरेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार केही दिनदेखि जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेकामा बुधबार दोलखास्थित जिरीको तापक्रम पनि ‘माइनस’मा झरेको छ ।
विभागमा बुधबार साँझ रेकर्ड भएको अभिलेखअनुसार जुम्लामा न्यूनतम तापक्रम माइनस ५.२ डिग्री र दोलखाको जिरीमा न्यूनतम तापक्रम माइनस ०.१ मा झरेको छ । जाडोयाम लागिसकेको र चिसो बढ्ने क्रममा रहेको विभागले जनाएको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले मङ्गलबार र सोमबार जुम्लाको न्यूनतम तापक्रम माइनस दुईदेखि तीनसम्म रहेकामा आज तापक्रम घटेर माइनस पाँच दशमलव दुईमा पुगेको हो ।
पछिल्लो एक÷दुई दिनमा राति बादल लागेकाले बढी चिसो महसुस भएको छ । दिउँसोमा भने धेरैजसो स्थानमा घामलाग्दा न्यानो महसुस हुने गरेको छ । आज पनि काठमाडौँ उपत्यकालगायत ठाउँमा बिहानभर बादल लागेर चिसो महसुस गराएको थियो ।

“रातिमा बदली हुँदै र दिन बढ्दै जाँदा खुल्दै गइरहेको छ । उपत्यका र तराईमा वायु प्रदूषण पनि रहेको छ”, मौसमविद् झाले भने, “जनवरीमा तापक्रम थप घट्दै जानेछ, हाल बङ्गालको खाडीमा बनेको न्यूनचापीय प्रणालीले असर गरेको छ । अलीअली पाकिस्तान क्षेत्रमा पनि न्यूनचापीय क्षेत्रका कारण पश्चिमी वायु पनि बन्दैछ । त्यसले पनि असर गरिरहेको छ ।”

विभागको विवरणमा काठमाडौँमा न्यूनतम तापक्रम आठ दशमलव पाँच रहेको छ । नेपालगञ्जमा न्यूनतम तापक्रम १२ रहेको छ । पोखरामा न्यूनतम तापक्रम ११, भैरहवामा १३, जनकपुरमा न्यूनतम तापक्रम १२ डिग्री रहेको छ । यस्तै, ताप्लेजुङमा न्यूनतम तापक्रम नौ डिग्री रहेको छ भने जुम्लामा न्यूनतम तापक्रम माइनस पाँच दशमलव दुई डिग्री रहेको छ ।

FACEBOOK COMMENTS